
खोटाङ, जेठ ३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खसेको मत भन्दा २२ मत कम भेटिएपछि मत गणना स्थगीत भएको छ । नगरपालिकाको ८ नम्बर वडा धितुङमा कुल १ हजार १ सय ४३ मत खसेको भनिएको थियो । तर गणना गर्न मतपेटिका खोल्दा २२ मत नपुगेपछि विवाद भएर गणना रोकिएको छ ।
सुरुमा मतपत्रमा रेजा लगाइएपनि २२ मत नखसेको कारण हिसाब नमिलेको मुख्य निर्वाचन अधिकृत संगिता न्यौपाने ढुंगेलले बताउनुभयो । तर मतपत्र भने नहराएको उहाँले भनाइ छ । २२ मतपत्र नभएपछि यतिबेला सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकाको सहमती पश्चात सो वडाको मत गणना सुरु गर्ने उहाँको भनाइ छ । वडा नम्बर ८ धितुङको गणना रोकिएपनि ५ नम्बर वडा दुर्छिमको मत धमाधम गणना भइरहेको छ ।
वडा नम्बर ६, ७ र ८ को मत गणना बाकी हुँदा नेकपा एमाले र माओवादी केन्द्र बिच भएको गठबन्धनका उम्मेद्वारलाई पछि पार्दै नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् ।
फेसबुक पेजमा मत परिणाम अपडेट गरिएको कारण देखाउदै मत गणना स्थलमा पत्रकार एवं सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको छ । तर पेजमा विवरण ढिला गरी आएको हुँदा रिपोर्टिङ गर्न समस्या भएको छ ।
