खोटाङ, जेठ १२ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा बुधबार राति भएको आक्रमणको घटनामा दलहरू विज्ञप्तिबाजीमा उत्रेका छन् । गठबन्धन दल र नेकपा एमालेले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको दोष एकअर्कालाई लगाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयु्क्त विज्ञप्ति जारी गरेर माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा पूर्व सांसद टंक राईमाथि सांघातिक आक्रमण भएको बताइरहँदा एमालेले भने टंकसहितको संलग्नतामा एमाले जालपा वडा कमिटी सदस्य पूर्णबहादुर राईमाथि आक्रमण भएको दाबी गरेको छ ।
‘…केही अराजक उच्छृंखल व्यक्तिद्वारा गाली बेइज्जत गर्ने, सांघातिक आक्रमण गर्ने निन्दनीय कार्य भएकोप्रति हामी घोर भत्र्सना एवं निन्दा गर्दछौँ,’ नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेकपा माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’, नेकपा एकीकृत समाजवादी खोटाङका अध्यक्ष जलशेर राई र जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंक थापाद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कानुन हातमा लिएर आक्रमण गर्ने, धाक–धम्की दिने र त्रासदीपूर्ण गतिविधि गरिनु अशोभनीय र अक्षम्य कार्य हो ।’ गठबन्धनले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गर्न प्रशासनसमक्ष माग गरेको छ ।
यता एमालेले भने पूर्व सांसद टंकसहित अम्बिका राई, धनीराम राई, पदमा विक र विवेक राईले वडा कमिटी सदस्य पूर्णमाथि मरणासन्न हुने गरी कुटपुट गरेको र घाइते पूर्णको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जनाएको छ । घटना सुनियोजित र योजनाबद्ध रहेको देखएको एमालेको ठहर छ ।
‘घटनालाई कुप्रचार गरी ढाकछोप गर्न गरिएको प्रयत्नप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘घाइतेको शीघ्र उपचारको व्यवस्था मिलाई दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौँ ।’ घटनाका दोषीलाई कुनै पनि बहानमा कारबाही नगरिए यसबाट उत्पन्न हुन आउने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्नेसमेत एमालेले चेतावनी दिएको छ ।
गठबन्धनले जारी गरेको संयुक्त विज्ञप्ति :-


