
खोटाङ, जेठ १६ । आकर्षक रोजगारी र तलबको प्रलोभन देखाई भिजिट भिसामा दुबई पठाएर ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोलुखुम्बु घर भएका एकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
ब्यूरोका अनुसार सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ घर भएका होमबहादुर खड्का, लमजुङको राईनास नगरपालिका–३ घर भएका मधुविलास बाँस्कोटा, कागेश्वरी मनोहरा नगरपालिका–७ निवासी रञ्जना ढकाल प्याकुरेल, रुपन्देहीको देवदह नगरपालिका–५ घर भएका राजु भन्ने खुमबहादुर बस्याल र कागेश्वरी मनोहरा–७ घर भएका सन्तोष प्याकुरेललाई ठगी आरोपमा पक्राउ गरिएको हो । हालसम्म ७६ जना पीडितले दुई करोड ४३ लाख ३६ हजार ८१० रुपैयाँ ठगी भएको भनी उनीहरुविरुद्ध लिखित जाहेरी दिएको ब्यूरोले जनाएको छ ।
भिजिट भिसामा नेपालबाट दुबई पठाएर दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीज एलएलसीको सञ्चालक कोमलराज उपाध्याय समेतको समूहले ‘आर्मस गार्ड’ मा ५०० जनाको माग भएको, मासिक ३ हजार दिरामसम्म पाउने र सो बापत जनही ३ लाख ५० हजारदेखि ८ लाख रुपैयाँसम्म खर्च लाग्ने भनी फेसबुक, ह्वाट्स एपजस्ता सामाजिक सञ्जालको पेजमा राखेर सर्वसाधारणलाई आकर्षित गरेको ब्यूरोको भनाइ छ ।
भ्रामक विज्ञापन राखेर आकर्षक तलब, सेवा तथा सुविधाको प्रलोभन देखाइ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट जागिर छोडी बसेका र सर्वसाधारण व्यक्तिलाई समेत भिजिट भिसामा दुबई पु¥याएर ‘९० दिनभित्र काममा लगाइदिन्छु’ भने पनि काममा नलगाई बिचल्ली बनाएर निजहरू फरार भएको विवरणसहित पीडितले ब्यूरोमा उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका पाँचै जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर) मा अदालतबाट म्याद लिइ अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
