
खोटाङ, जेठ १६ । प्रदेश १ सरकारले खोटाङका २ जना महिला उद्यमीलाई सम्मान गरेको छ । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले महिला अधिकार दिवसको अवसर पारेर आज प्रदेश १का १४ जिल्लाका २८ जना महिला उद्यमीलाई सम्मान गरेको हो । जसमा खोटाङका भद्रकुमारी श्रेष्ठ र झरना श्रेष्ठलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा अन्य जिल्लाबाट ताप्लेजुङको नैनकला गुरुङ र कौशिला देवान मादेन, पाँचथरकी दिकी शेर्पा र जुनुकुमारी लावतीलाई सम्मान गरिएको छ । त्यस्तै इलामको विमला ढुंगेल, सन्तकुमारी राई, बिर्तामोड ५ झापाकी उमा कटुवाल भण्डारी, भद्रपुर ८ का अनिता कार्की र शर्मिला अधिकारीलाई पनि सम्मान गरिएको छ । मोरङको कुमारी विस्वास, इटहरीकी धनकुमारी तामाङ, वराहक्षेत्रकी मुना न्यौपाने पाण्डेलाई पनि सम्मान गरिएको छ ।
धनकुटाकी सुमित्रा बुढाथोकी, ईश्वरी मस्राङ्गी, तेह्रथुमको शान्तिला फुदोङ, बिष्णुमायाँ लिम्बु, भोजपुरकी रसिला ताम्राकार र संगिता श्रेष्ठ प्रधान, सङ्खुवासभाको शान्ता राई र मादीकी कुमारी वर्देवा, सोलुखुम्बुको रमामायाँ विश्वकर्मा, पार्वती राई, ओखुलढुंगाको भोजकुमारी श्रेष्ठ र सरिता राई, उदयपुरको विन्दामायाँ कार्की र दुर्गा दनुवारलाई पनि सम्मान गरिएको छ ।
सम्मानित हुने महिलाहरूले भैँसी पालन फर्म, भुजिया उद्योग, कृषि फर्म, ब्युटी पार्लर, ढाका उत्पादन, टेलर्स सञ्चालन गरेका छन् । पोल्टी फर्म सञ्चालन, मोटरसाइकल वर्कसप सञ्चालन, दुग्ध उत्पादन, ललिपप उद्योग, फुड ईण्डष्ट्रिज सञ्चालन, बुटिक र अचराको फुलबुट्टा, कटिङ सेन्टर र डेरी उद्योग सञ्चालन गरेका महिला उद्यमीहरूलाई जनही ५० हजारका दरले सम्मान गरिएको हो ।
सम्मान पछि कार्यक्रममा बोल्दै प्रदेश १ सामाजिक विकास मन्त्री राजन राईले सबैलाई समान रूपमा अगाडी बढाउनको लागि उद्यम र व्यवसायिक क्षेत्रमा लागेका महिलालाई सम्मान गरिएको बताउनुभयो । महिलाहरूमा अझै असमानता र विभेद रहेको भए पनि हिजोको जस्तो अहिलेको अवस्था नरहेको उहाँको भनाइ छ ।
