खोटाङ, जेठ १६ । खोटाङ सदरमुकाम दिक्तेलबजारभित्रको सडक ढलानको काम ७ दिनभित्र सुचारु गर्ने वातावरण मिलाउन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगा र निर्माण कम्पनीलाई ताकेता गरेको छ । सडकको ढलान कार्य लामो समयदेखि स्थगित भएका कारण यातायात अवरुद्ध भएको, हिँडडुल गर्नसमेत समस्या भएको, निर्माणाधनी बाटो अलपत्र रहेका कारण दुर्घट्नाको जोखिम भएको तथा स्थानीयबासीहरूबाट व्यापक जनगुनासो आएकाले हप्ता दिनभित्र पुनः काम सुचारु गर्नका लागि पहल गरिदिन मेयर तीर्थराज भट्टराईले सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई सोमबार पत्रचार गर्नुभएको हो ।
मेयर भट्टराईले सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई बोधार्थ राखेर निर्माण कम्पनी एससीएफ बिएनएस जेभीलाई भने ७ दिनभित्र निर्माण कार्य सुचारु गरी यथाशीघ्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । तोकेको समयामा पनि काम सुचारु नगरेमा सार्वजनिक खरिद अनुगमन कार्यालयलगायत सम्बन्धित निकायहरूमा कानुनबमोजिमको कारबाहीका लागि सिफारिस गरिने पत्रमा उल्लेख छ ।
‘हामी बजारलाई सफा, सुन्दर र हराभरा बनाउने योजनामा छौँ। तर, ठेकेदारले १ वर्षदेखि बजारको बिच भागमा काम सुरु गरेर कामै नगरी धराप थाप्ने काम गरिरहेको छ,’ मेयर भट्टराईले भन्नुभयो, ‘निर्माण कम्पनीले यदि ७ दिनभित्र पुनः काम सुरु नगरे पक्राउ गरेर कडाभन्दा कडा कारबाही गर्छौँ ।’
निर्माण कम्पनीले २ करोड ६८ लाख बजेटमा दिक्तेलबजारको सिँचाइ गेटदेखि ७६४ घनमिटर ढलान र ४५३ घनमिटर ग्याभिङ वालको काम गर्नुपर्नेमा म्याद गुजारेर बसिरहेको छ ।
