खोटाङ, जेठ १६ । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका वसन्त बस्नेत विजयी हुनुभएको छ । बस्नेतले १३ हजार ९ सय ५९ मत पाउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भागवत राउले ११८७३ मत ल्याउनुभयो । पूर्वमेयरसमेत रहेका एकीकृत समाजवादीका बलदेब चौधरीले ९१४७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपप्रमुखमा भने एमालेकी महेश्वरी राई निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसकी सरिता राईलाई हराउनुभयो । महेश्वरीले १३ हजार ७०३ मत पाउँदा कांग्रेसकी सरिताले ११ हजार ९८१ मत ल्यानुभयो । नेकपा माओवादी केन्द्रकी गिता खड्का कार्कीले ६५६८ मत पाउनुभयो ।
त्रियुगाका १६ वडामध्ये नेपाली कांग्रेसले ९, नेकपा एमालेले ४ र ३ वडा माओवादी केन्द्रले जितेको छ । त्रियुगामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो ।
त्रियुगामा निर्वाचन सकिएको ११ दिनपछि गणना सुरू गरिएको थियो । तोकिएकै समयमै मतदान भए पनि १२ नम्बर वडामा भएको विवादले मतगणना सुरू हुन सकेको थिएन । पछि निर्वाचन आयोगले यथास्थितिबाटै गणना सुरु गर्न निर्देशन दिएपछि जेठ १० गतेदेखि गणना सुरू गरिएको थियो ।
योसँगै नेपाली कांग्रेसले देशभरका ३२९ पालिकामा प्रमुख पद जितेको छ । अब एउटा पालिकाको नतिजा आउन बाँकी छ ।
