Thursday, April 16News That Matters

दूधकोशी जलविद्युत आयोजना निर्माणका लागि ९४ करोड बजेट विनियोजन

दूधकोशी जलविद्युत आयोजना निर्माण स्थल

खोटाङ, जेठ १६ । बहुप्रतीक्षित ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ । उक्त जलविद्युत आयोजना निर्माणकालागि सरकारले ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका दिएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको हो ।

दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले आगामी वर्ष जलाशययुक्त अयोजनालाई प्राथमिकतामा राखेको पनि बताएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण भइरहेको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटमा उक्त आयोजना निर्माण गर्न लागिएको हो ।

आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको ९ हजार रोपनी र सोलुखुम्बुको ५ सय रोपनी जग्गा अधिग्रहण हुने आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेँले जानकारी दिनुभयो । आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण हुने अनुमान छ । खोटाङको रावाबेँसी गाउँपालिकाका ५ हजार ३ सय ४ कित्ता, ऐँसेलुखर्क गाउँपालिकाका ५ सय २२ कित्ता, ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाका २ हजार ४ सय ९ कित्ता जग्गा अधिग्रहणको काम भइरहेको छ । अधिग्रहण भएका जग्गाधनीहरुले आयोजनाले मुआब्जा दिन ढिलाइ गरेको भन्दै गुनासो समेत गरेका छन् ।

आयोजनाबाट तीन जिल्लाका १ हजार १ सय ५० घरधुरी प्रभावित हुने भएका छन् । खोटाङका ६ सय ५७, ओखलढुंगाका ४ सय ७९ र सोलुखुम्बुका १४ गरी १ हजार १ सय ५० घरधुरी प्रभावित हुने भएका हुन् ।

आयोजना निर्माण भएपछि वार्षिक ३ अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुनेछ । यसमध्ये हिउँदमा १ अर्ब ३५ करोड ८० लाख र वर्षा याममा २ अर्ब ८ करोड ४० लाख युनिट ऊर्जा उत्पादन हुनेछ । कुल ६३५ मेगावाट क्षमताको यो आयोजनाको दुईवटा विद्युत गृह रहनेछन् । एउटा ३५ मेगावाटको बाँध नजिकै बन्ने छ । अर्को ६ सय मेगावाटको भूमिगत विद्युत गृह सुनकोशीको किनार हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा बनाइनेछ । विद्युत गृहसम्म पानी पु¥याउन १३.४ किलोमिटर लामो सुरुङ बन्नेछ । आयोजना निर्माणका लागि ब्याजबाहेक १ खर्ब ५३ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।