
खोटाङ, असार १ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका नागरिकले वडाको सेवा तीन ठाउँबाट पाउन थालेका छन् । भूगोल ठुलो भएको कारण वडा कार्यालयसम्म पुग्न नागरिकलाई सास्ती भएपछि तीन ठाउँबाट वडाको सेवा दिन थालिएको हो ।
भोर्लेनी, धारापानीका नागरिकलाई वडा कार्यालयसम्म आउन ४ घण्टा सम्म लाग्ने गरेको छ । त्यसैले सो क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै हप्ताको एक दिन भोर्लेनी गाउँ घर क्लिनिकबाट सोमबार र धारापानी स्वास्थ्य इकाइको भवनबाट बुधबार सेवा दिन सुरु गरिएको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताउनुभयो ।
पाण्डेले भन्नुभयो, “देशमा संघीयता आएको छ, अब गाउँ गाउँमा सिंहदरबार भनिएको छ तर वडा कार्यालयको सेवा लिनलाई दिननै माया मारेर ४ घण्डाको बाटो हिड्नु पथ्र्यो । त्यसैले नागरिकलाई संघीयताको प्रत्याभूती दिलाउन हामीले हप्ताको १÷१ दिन गरेर दुई दिन भोर्लेनी र धारापानीबाट वडाको सेवा दिन थालेका छौँ ।”
घर नजिकै वडा कार्यालयबाट पाउने सम्पुर्ण सेवा पाउन थालेपछि सो क्षेत्रका नागरिक पनि हर्षित छन् । उनिहरु भन्छन् “बल्ल हामीले सिंहदरबार गाउँमै आएको महसुस गरेका छौँ ।” डुम्रेधारापानीले सो क्षेत्रका नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै धारापानीमा स्वास्थ्य इकाइ पनि सञ्चालनमा ल्याएर सेवा दिईरहेको छ ।
