
साउन २५ । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन नं. २ ओखलढुंगामा कार्यरत सबइन्जिनियर रामबाबु यादवले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर सबइजिनियरको जागिर खाएको खुलेको छ ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर जागिर खाएको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको अभियोगमा मुद्दा दायर गरेको छ । यादवविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो ।
उनले सुनसरी टेक्निकल कलेज, धरानबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेको प्रमाणपत्रहरू, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. २, ओखलढुंगामा पेस गरी २०७६ भदौदेखि २०७७ असार मसान्तसम्म जागिर खाएका थिए । अख्तियारमा उनको प्रमाणपत्र नक्कली भएको विषयमा उजुरी परेको थियो ।
अनुसन्धान गर्दा उनले नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाई लाभ र सुविधा लिएको देखिएको अख्तिायारका प्रवक्ता श्यामप्रासद भण्डारीले जानकारी दिए । उनलाई कैद सजाय र जरिवानाको मागदाबीसहित अख्तियारले आरोपपत्र दायर गरेको छ ।
