
खोटाङ, भदौ १३ । साहित्यकार श्रीराम राईको ‘सञ्चो छौ की बिसञ्चो’ बोलको गीत युटुबमा सार्वजनिक भएको छ । सार्बजनिक भएको १८ दिनसम्म गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । नयाँ युटुव च्यानल भएका कारण सोँचे जस्तो भ्यिुज भने नपाएको गीतका लेखक राईले बताउनुभयो ।
राईको यो दोस्रो गीत हो । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि बिसञ्चो’ बोलको दोस्रो गीत बजारमा ल्याएका हुन् । गीतमा ओमप्रकाश राईले संगीत भरेका छन् । ६ मिनेटको गीतको अडियो ओसन म्यूजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा स्वर दिएकी मनमा बी खोटाङकै उदीयमान गायिका हुन् ।
१० बर्से शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७,दोर्पा,चिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन् । गीतकार राई बालकथा,लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता विविध विधामा उत्तिकै कलम चलाउँछन्। उनका बालकथासंग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन् ।
संयुक्त लघुकथासंग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँचवटा र ‘संयोग’ २०७९ मा उनका तीनवटा लघुकथा समावेश छन् भने उनको लघुकथासंग्रह प्रकाशनको तयारीमा छ । रावासावा प्राज्ञिक समाज नेपालका सदस्य राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुन् ।
