Wednesday, April 15News That Matters

जसपा खोटाङको जिल्ला समिति फेरियो, निर्वाचनकालागि उम्मेद्वारको नाम सिफारिस

उम्मेदवारको नाम सार्वजनिक गर्दै जसपा जिल्ला समन्वय समिति अध्यक्ष पिके खम्बू ।

खोटाङ । जनता समाजवादी पार्टी (जसपा) खोटाङको अध्यक्षमा पुर्णराज राई (पि.के खम्बु) चयन हुनुभएको छ । तत्कालिन अध्यक्ष टंक थापा लगायतको समुहले पार्टी छाडेपछि उपाध्यक्ष राईलाई अध्यक्ष बनाएर नयाँ जिल्ला समन्वय समिति गठन गरिएको हो ।

तत्कालिन अध्यक्ष थापाले पार्टी परित्याग गरेपछि खम्बुको अध्यक्षतामा बसेको बैठकले पार्टीको यथार्थ अवस्था माथिल्लो कमिटीमा लेखी पठाएको र माथिल्लो समिति प्रदेश नम्बर १ समितिले उपाध्यक्षलाई नै अध्यक्षको जिम्मेवारी दिएको पत्रचार गरेपछि अध्यक्षको जिम्मेवारी खम्बुले पाउनुभएको हो । यस्तै, उपाध्यक्षमा नैनबहादुर कटवाल, निर्मल राई र मैया राई, सचिवमा सुनिल चाम्लिङ, उपसचिवमा टिकाराम राई, बिरेन्द्र दर्नाल, आशिस राई र कोषाध्यक्षमा नैनकला राई रहनेगरी ८७ सदस्सीय जिल्ला समन्वय समिति जसपाको जिल्ला बैठकले गठन गरेको छ ।

यता मुख्य सचिवबाट लेखि पठाएको पार्टीको कुनै पनि समितिमा नरहने गरी १७ जना नेता कार्यकर्तालले राजिनामा दिएका छन् । प्रदेश मुख्य सचिव प्रभुराम श्रेष्ठले पार्टीको विधि विधान मिचि गठन गरी पठाएको जिल्ला समन्वय समिति प्रति गम्भीर असन्तुष्टी जनाउँदै रबिन खम्बु, गुरुराज राई, बिरेन्द्र दर्नाल लगायतका नेता कार्यकर्ताहरुले आईतबार सामूहिक रुपमा राजिनामा दिएका हुन् ।

निर्वाचनका लागि जसपाले गर्यो उम्मेद्वार सिफारिस
जनता समाजवादी पार्टी (जसपा) खोटाङले आसन्न निर्वाचनकालागि जिल्लाबाट उम्मेद्वारको नाम सिफारिस गरेको छ । जसपाले सिफारिस गरेको नामहरुमा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ अशोक कुमार राई र डा. कृष्ण कुमार राईको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ पर्शुराम बस्नेत, देवराज राई, तेजमाया राई, प्रेम कुमार राई र सुनिल राईको नाम सिफारिस भएको छ ।

प्रदेशसभा ‘क’ प्रत्यक्षमा राकेश राई, नविन राई, विवेक राई, हेमन्त राई, मविन्द्र राई तथा प्रदेशसभा ‘क’ समानुपातिकमा तेजामाया राई, नैन बहादुर कटवाल, बच्चु राई, कमानसिंह राई र झुमा पोखरेलको नाम सिफारिस भएको छ । प्रदेशसभा ‘ख’ प्रत्यक्षतर्फ देवराज राई र प्रेम कुमार राई तथा प्रदेशसभा ‘ख’ समानुपातिकतर्फ रमेश राई, लालबहादुर राई, नैनकला राई, रविन खम्बु र चक्रप्रसाद फुयललाई सिफारिस गरिएको जसपा खोटाङले जनाएको छ ।

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै संगठन सुदृढिकरण तथा चुनावी जागरण अभियानका लागि जिल्लाभरीको संयोजक राजनीतिक समिति सदस्य देवराज राईको संयोजकत्वमा ‘जनताको आव्हान जसपाको अभियान, संघीयता र सुशासन’ समिति गठन गरिएको छ । प्रदेशसभा ‘क’ मा संघीय परिषद सदस्य राकेश राई र प्रदेशसभा ‘ख’ मा किरात राष्ट्रिय समितिका उपाध्यक्ष प्रेम राइको संयोजकत्वमा अभियान समिति गठन गरिएको जसपाले जनाएको छ ।