
खोटाङ, कात्तिक २६ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली खोटाङ आउने हुनुभएको छ । कातिक–३० गते खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा नेकपा एमालेले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री ओली हेलिकोप्टरबाट खोटाङ आउने हुनुभएको हो ।
पूर्वप्रधानमन्त्री ओली खोटाङ आउने हुने भएपछि सोही अनुसारको तयारी गरिएको एमालेले जनाएको छ । ३० गते इन्द्रेणीपोखरीमा हुने आमसभामा करीब ६ हजारको उपस्थिति रहने एमालेको अनुमान छ ।
एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवम् निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (क)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष रामप्रसाद दंगाल चुनावी मैदानमा उत्रनुभएको छ ।
यस्तै, गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’, प्रदेशसभा (क)मा एकीकृत समाजवादीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (ख)मा काँग्रेसका १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ ।
प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेसनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा (क)मा स्वतन्त्रसहित आठ÷आठ तथा प्रदेशसभा (ख)मा छ जना चुनावी मैदानमा उत्रिएका छन् ।
