खोटाङ, पुस ६ । नेपाल नगरपालिका संघको कोषाध्यक्षमा खोटाङका विमला राई चयन हुनुभएको छ । नेपाली कांग्रेसबाट निर्वाचित हलेसी तुवाचुङ नगरपालिकाको मेयर राई संघको संघको आठौं महाधिवेशनबाट कोषाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
४३ सदस्यीय कार्यसमिति रहनेगरी संघको अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा चयन हुनुभएको छ । उहाँ नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको हो । महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन हुँदा उपमहासचिवमा काठमाडौं महानगरपालिकाक उपप्रमुख सुनिता डंगोल र सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिका प्रमुख एकीकृत समाजवादीक मीना लामा चयन हुनुभएको छ ।
स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार संघको भागवण्डा भएको हो । देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।