Friday, April 17News That Matters

अनुप स्मृति गोल्डकपको फाइनलमा नेर्पा र डिएफसी


खोटाङ, पुस २१ । दिक्तेलमा जारी अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको उपाधिका लागि नेर्पा स्पोर्टस क्लब नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) भिड्ने भएका छन् ।

बिहीबार दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भएको खेलमा विजयी हुँदै दुई टोली फाइनलमा प्रवेश गरेका हुन् । चियाबारी फुटबल क्लब इलामलाई २–६ गोल अन्तरले हराउदै नेर्पा फाइनलमा पुगेको हो । यता आयोजकसमेत रहेको (डिएफसी) मानेभन्ज्याङ स्पोर्टस क्लब ओखलढुंगालाई पेनाल्टी सुटआउटमा हराउदै फाइनलमा पुगेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा ५–६ गोल अन्तरले आयोजक (डिएफसी) विजयी भएको हो ।सेमिफाइनलिष्ट इलाम र ओखलढुंगाले २५/२५ हजारसहितकप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । फाइनल खेल नेर्पा र डिएफसीबिच शनिबार बिहान ११ बजे हुनेछ । नेर्पा गोल्डकपको दोश्रो संस्करणको विजेतासमेत हो ।

माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सह–आयोजनामा आईतबारदेखि भईरहेको गोल्डकप विजेताले दुई लाख ५१ हजार, उपविजेताले एक लाख ११ हजार सहितकप, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछ ।

उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट टिम प्रशिक्षकले नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । अनुशासित टिमले नगद पाँच हजार ५५५ का साथमा ट्रफी र प्रमाणपत्र पाउनेछन् । मेन अफ द टुनामेन्ट र सर्वाधिक गोलकर्ताले नगद सातहजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन् ।