Friday, April 17News That Matters

दुई वर्ष पछि हरमटारमा पुनः साप्ताहिक हाट सञ्चालनमा

हरम्टारमा शुक्रबार लागेको साप्ताहिक हाट

खोटाङ, पुस २२ । रावा बेसी गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारमा पुनः साप्तहिक हाट सञ्चालनमा आएको छ । कोभिड–१९ को कारण बन्द भएको साप्तहिक शुक्रबारे हाट आजबाट पुनः गाउँपालिकाले सञ्चालनमा ल्याएको हो ।

१० पुस २०७७ मा गाउँपालिका केन्द्र नजिकै साप्ताहिक हाट सुरु गरिएको थियो । तर कोभिड–१९ को कारण ३ महिना सञ्चालन भएर बन्द भएको थियो । हटिया अर्थात साप्ताहिक हाट बन्द भएपछि कोरोना संक्रमितहरुलाई राख्न उक्त स्थानमा गाउँपालिकाले क्यारेन्टाइन निर्माण गरेको थियो । सोही स्थानमा आज अर्थात पुस २२ गतेबाट हाट सञ्चालनमा आएको छ ।

हाट सञ्चालनमा आएको पहिलो दिन क्रेता एवं बिक्रेताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । स्थानीय स्तरमा उत्पादन भएका मुला, साग, बन्दा, अदुवा, लसुन, उखु, भुइकटहर, सखरखण्ड, सुन्तला, केरा, दाल लगायतका कृषि उपज लिएर कृषकहरु बिक्री गर्न बजार आएका थिए । हाटमा खाजा नास्ताको लागि होटल एवं लत्ता कपडा पसल पनि सञ्चालन गरिएको थियो । आफुले उत्पादन गरेका कृषि उपजहरु घर नजिकै बिक्री गर्न पाउदा कृषक हर्षित भएका छन् ।

गाउँपालिका भित्र उत्पादन भएका कृषि उपजहरुको बजारीकरणका लागि सरोकारवाला सबैसँग छलफल गरेर पुनः साप्ताहिक हाट सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष फट्टिक कुमार श्रेष्ठले बताउनुभयो । ‘रावा बेसीमा धेरै कृषि उपजहरु उत्पादन हुन्छन् तर बजारीकरणको समस्या छ । त्यसैले कृषकको सहजताको लागि हाट पुनः सञ्चालनमा ल्याइएको हो ।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

कृषि पेसाबाट कृषकलाई आत्मनिर्भर बनाउदै पालिका भित्र हुने आयतलाई कम गर्ने योजनामा गाउँपालिका रहेको अध्यक्ष श्रेष्ठले सुनाउनुभयो । जसअन्तरगत तोरी उत्पादनका लागी कृषकलाई पालिकाले बिउ उपलब्ध गराएको छ । आगामी दिनमा गुन्द्रक, भुजा, अचार लगायत पालिकामा उत्पादन गरेर बाहिर निर्यात गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।