Thursday, March 5News That Matters

ठेकेदारलाई पक्राउ गर्न दिक्तेल नगरपालिकाले लेख्यो प्रशासनलाई पत्र


खोटाङ, चैत २४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ठेकेदारलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डमा पर्ने पंखु खोलाको मोटरेबल पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गरी कानूनी कारबाही गर्न भन्दै नगरपालिकाले प्रशासनलाई पत्र लेखेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पंखु खोला पुलको काम अलपत्र पार्ने सिरुवा कन्ट्रक्सन प्रालिका प्रोजेक्ट मेनेजर सन्तोष ढुंगानालाई कानुनी दायरामा ल्याउन प्रशासनलाई पत्र लेखिएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।

सिरुवा कन्ट्रक्सनले २०७३ असोज ७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७२ असोज ६ गते ठेक्का सम्झौता गरेको थियो । तेश्रोपल्ट थप भएको २०७७ असोज ३० गते नै नाघिसकेको छ । त्यस यता पुलको म्याद थप नभएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, धुलिखेलका इन्जिनियर दिपेश मुनकर्मीले बताउनुभयो ।

६ वर्ष अघि बनिसक्नुपर्ने पुलको हालसम्म दुईतिरको पिलर ठड्याउने बाहेकका काम भएको छैन । हालसम्म पुलको वित्तीय प्रगती ४० प्रतिशत र भौतिक ४५ प्रतिशत मात्र सकिएको जनाइएको छ ।