
खोटाङ, चैत २६ । खोटाङ प्रदेश सभा ‘क’ का सांसद पाँचकर्ण राई (पि.के) लाई पहिचान पक्षधरको नाममा पार्टीका कार्यकर्तालाई परिचालन गरी दुव्र्यवहारको दुष्प्रयास गरेको भन्दै एमालेले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ । सांसद तथा एमालेका नेता राईलाई प्रदेश नामकरणको विषयलाई लिएर केही जनप्रतिनिधिको संलग्नतामा पार्टीका कार्यकर्ताद्धारा दुव्र्यवहारको दुष्प्रयास भएको भन्दै एमालेले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
कार्यक्रममा अतिथिको रुपमा आमन्त्रण गरी केही पार्टीका नेताहरुको इसारामा योजनाबद्ध ढंगले जिल्ला सभाको रोस्टम प्रयोग गरेर आक्रण गरिएको एमालेको आरोप छ । प्रदेश नामकरणको निर्णय प्रक्रियामा भाग लिएका राजनीतिक दलकै नेता तथा जनप्रतिनिधिको इसारामा एमालेबाट निर्वाचित सांसदलाई मात्र एकतर्फी दोषारोपण गरेर निरन्तर प्रहार गरिएको प्रति घोर भ्रत्र्सना गरिएको एमालेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला समन्वय समिति खोटाङको आयोजनामा शनिबार भएको सातौ जिल्ला अधिवेशनमा संघीय सांसद रामकुमार राई (पासाङ) प्रमुख र प्रदेश सांसद राई विशेष अतिथिकोरुपमा उपस्थित थिए । कार्यक्रम सञ्चालन भइरहेको समयमा प्रवेश गरेर नाराबाजी गर्दै कालो झण्डा देखाइएको थियो । साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले मन्तव्य राखिसकेपछि किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले रोस्टममा गएर आफ्ना कुरा राख्दै नाराबाजी सुरु गरेका थिए । नाराबाजी गर्दै कालो झण्डा देखाएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो ।
कोशी प्रदेश नामाकरणको पक्षमा मतदान गरेको भन्दै सांसद पाँचकर्ण राई बिरुद्ध नाराबाजी गर्ने पहिचान पक्षधरका यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, सह–कोषाध्यक्ष डार्विन राई, यायोक्खा दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिका पुर्वउपाध्यक्ष सप्तमणी राई र जसपाका जिल्ला सचिव सुनिल चाम्लिङ पक्राउ परेका थिए । पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएको केही समय पछि उनिहरु बिनाशर्त रिहा भएका छन् ।
पहिचान पक्षधरले सांसद राईलाई कालो मोसो दल्ने प्रयास गरे पनि उक्त प्रयास असफल भएको थियो ।
