
खोटाङ, चैत २६ । खोटाङमा बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा तीन जना गम्भीर घाईते भएका छन् । आइतबार ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीको सानोडुम्रेस्थित मयुर आधारभुत विद्यालयबाट राखालीपुलतर्फ जाँदै गरेको को १ च ९४९३ नम्बरको बोलेरो दुर्घटना भएको हो ।
दुर्घटनामा पदममायाँ राई, जयकुमार राई र डोलकुमार राई गम्भीर घाईते भएका हुन् । गम्भीर घाइते भएका तीन जनालाई हेलीकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बिरामी भएकी पदममायाँलाई उपचारका लागि सोलुखुम्बुतर्फ लैजाने क्रममा अनियन्त्रित भएको बोलेरो सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी रोमन अर्यालले बताउनुभयो ।
दुर्घटनामा नगेन्द्र राई, प्रेमबहादुर सुवेदी र ऐसेलुखर्क गाउँपालिका–१ राखाका जयकुमार राई सामान्य घाईते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार भइरहेको छ । बिरामीलाई स्ट्रेचरमा राखेर राखालीपुलतर्फ लैजाँदैगर्दा मयुर आधारभुत विद्यालय नजिकै खाली बोलेरो भेटेपछि उनीहरु सोही बोलेरो चढेर अगाडि जानेक्रममा दुर्घटनामा परेका हुन् ।
