Tuesday, December 3News That Matters

खोटाङकी १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या

खोटाङ, फागुन २२ । खोटाङकी एक १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या भएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे घर भएकी ज्ञानमती थुलुङ राईको मोरङ पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलमा सोमबार राती धारिलो हतियार प्रहार गरी बीभत्स हत्या भएको हो ।

खोटाङको ज्यामिरे घर भएकी किशोरी राई २ वर्षदेखि मामाको छोरा दाई विनोद राईको घर मोरङमा बसेर पढ्दै आएकी थिइन् । उनी पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । नास्ता पसल सञ्चालन गर्दै आएका दाई विनोदलाई पसलमा सहयोग गर्दै उनी पढ्दै आएकी बताइएको छ ।

प्रहरीका अनुसार सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार उनी बस्ने घर बाहिर शौचालय छ । कोठाबाट शौचालय जाने क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दाहालले बताए । हत्याको कारण र संलग्नको पहिचान भने भएको छैन ।

‘राति शौचालय जानका लागि निस्कएकी उनी कराएको सुनेर घरमा मान्छे उठेका रहेछन्, शौचालय घरको पछाडिपट्टि टिनले बेरेको कम्पाउन्डभित्र छ,’ दाहालले भने,’ शौचालय जाने क्रममा धारिलो हतियार गर्धनमा प्रहार भएको देखिन्छ ।’

बालिका कराएको सुनेपछि घरका सदस्य बाहिर निस्कदा छटपटाइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘बालिका कराएको सुनेपछि बाहिर निस्कदा परिवारका सदस्यले शौचालय छेउमा छटपटिरहेको देखेछन्,’ उनले भने,’ प्रहरीलाई खबर गर्दागर्दै बालिकाको मृत्यु भयो ।’

योजनावद्ध रुपमा हत्या भए जस्तो देखिएको प्रहरीले बताएको छ । ‘घटनामा संलग्नता खुलेको छैन,’ दाहालले भने,’ सूक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं ।’

प्रहरी स्रोतका अनुसार बालिकाको हत्या प्रेम सम्बन्धका कारणले भएको हुनसक्ने देखिन्छ । ‘उनलाई ढुकेर बसेर बाहिर निस्कने बित्तिकै हतियार प्रहार गरेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो ,’ चिनेजानेकैले घटना गराएको जस्तो देखिन्छ ।’

घटनाको कारण प्रेम सम्बन्ध पनि हुनसक्ने भएकाले अनुसन्धानको दायरा फराकिलो बनाएको दाहालले बताए । ‘अनुसन्धानका क्रममा त्यो कुरा पनि आएका छन् तर सबै कुरा खुलको छैन,’ दाहालले भने ।

घटनास्थलमा मंगलबार बिहान मात्रै मुचुल्का गरिएको थियो । धरानबाट तालिमप्राप्त कुकुरको टोली पनि खटिएको थियो । मंगलबार बिहान साढे ८ बजे कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । यो समाचार अनलाईन खबर र सेतोपाटीको सहयोगमा तयार पारिएको हो