
खोटाङ, फागुन २३ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालयले ६४ औं वार्षिकोत्सव मनाएको छ । स्थापना भएको ६४ वर्ष पुरा भएको अवसरमा मंगलबार र बुधबार विभिन्न कार्यक्रम गर्दै विद्यालयले वार्षिकोत्सव मनाएको हो ।
वि.स. २०१७ सालमा स्थापना भएको सरस्वती माविमा हाल कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । कक्षा १–१२ सम्म ३ सय ४४ जना विद्यार्थी विद्यालयमा अध्ययनत रहेका छन् । वार्षिकोत्सवको अवसरमा विद्यालयको अवस्था एवं गतिविधि प्रस्तुत गर्दै प्रधानाध्यापक नविन चाम्लिङ राईले हाल विद्यालयसँग रु २५ लाख ९२ हजार ११३ रुपैयाँ ६८ पैसा मौज्दात रकम रहेको जानकारी दिनुभएको छ । विद्यालयमा निर्माण भएका भवनहरुमा रंग लगाउने, थप भवन निर्माण गर्ने, तारजालीको घेराबारा गर्ने, खानेपानीको उचित व्यवस्थापन गर्ने लगायतका कामहरु विद्यालयलाई तत्काल आवश्यक रहेकोसमेत बताउनुभएको छ ।
शैक्षिक गुणस्तरलाई माथि उकास्न र विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा जोड्न विद्यालयमा विभिन्न कार्यक्रमहरुको सुरुवात गरिएको प्रअ चाम्लिङले बताउनुभएको छ । विद्यालयमा स्काउट कार्यक्रम सञ्चालन, अभिभावक भिजिट कार्ड प्रयोग, प्रत्येक जन्मदिनमा एक पुस्तक हस्तान्तरण गर्ने गरी पुस्तकालय स्थापना लगायतका कामहरुको सुरुवात गरिएको उहाँको भनाइ छ ।
वार्षिकोत्सवको अवसरमा पूर्व प्रधानाध्यापक डिकविर राईले स्वर्गीय आफ्नो बुवा आमाको नाममा अक्षय कोष स्थापना गर्नुभएको छ । एसईईमा उत्कृष्ट अंग ल्याउनेलाई छात्रवृत्ति प्रदान गर्ने गरी राईले रु ५५ हजार ५५५ रुपैयाँको “खड्ग हिरा छात्रवृत्ति अक्षय कोष” स्थापना गर्नुभएको हो । बुधबार निवर्तमान प्रअ राईले हालका प्रअ चाम्लिङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव श्रेष्ठलाई अक्षय कोषको लागि चेक हस्तान्त्रण गर्नुभएको हो ।

यस्तै, वार्षिकोत्सवको अवसरमा पूर्व प्रअ शर्मानन्द खनालले स्थापना गर्नुभएको “शर्मानन्द तथा तारा अक्ष अक्षय कोष”को छात्रवृत्तिसमेत वितरण गरिएको छ । शैक्षिक सत्र ०७९ मा कक्षा १–१२ सम्म प्रथम भएका विद्यार्थीहरुलाई रु १ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो । प्रतीक्षा राई, अन्जना भुजेल, बिबश श्रेष्ठ , डेनिश श्रेष्ठ, देविका राई, आशिका सुवेदी, भावना पुरी, जेनिशा श्रेष्ठ, सुविन गिरी, वर्षा श्रेष्ठ, रोशिका श्रेष्ठ र निक्की राईलाई पूर्व प्रअ शर्माले छात्रवृत्ति प्रदान गर्नुभएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सव कार्यक्रममा विद्यालयले विभिन्न कार्यक्रमसँगै शिक्षक र विद्यार्थीहरुको मनोरञ्जनाम्क नृत्यसँगै विद्यार्थीहरुले स्काउट प्रस्तुत गरेका थिए । विद्यालयमा अक्षय कोष निर्माण गर्ने पूर्व प्रअ डिकवीर राई र विद्यालयलाई विभिन्न अन्य सहयोग गर्ने जमुना श्रेष्ठ, निर्मला राई र दुर्गाकुमार श्रेष्ठलाई विद्यालयले सम्मानसमेत गरेको छ ।

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका कार्यक्रमहरु १० नम्बर वडास्तरीय हाजिरीजवाफ कक्षा १–५ सम्ममा सरस्वती मावि प्रथम, कालिका आवि द्वितीय र हिमगङ्गा आवि तृतिय भएका छन् । कक्षा १–५ सम्मको खुल्ला ब्यालुन फुटाईमा तोसन राई प्रथम, बसन्त श्रेष्ठ द्वितीय र निश्मा तृतिया भएका छन् । संगीत कुर्सी प्रतियोगितामा जमुना सुबेदी प्रथम, चिना गिरी द्वितीय र रुपा राई तृतीय भएको प्रअ चाम्लिङले बताउनुभयो ।
यस्तै, अन्तर सदन आधारभूत कक्षा ६–८ बादबिबाद प्रतियोगितामा प्रथम भावना गिरी (कन्चनजङ्घा), द्वितीय माधव श्रेष्ठ (ल्होत्से) र आशिश राई कन्चनजङ्घा) तृतीय भएका छन् । कक्षा ९–१२ अन्तर सदन वक्तृत्वकलामा प्रथम कन्चन पुरी (ल्होत्से), द्वितीय एलिना राई (कन्चनजङ्घा) र जेनिशा श्रेष्ठ (मकालु) तृतीय भएका छन् । उनीहरुलाई विभिन्न पुरस्कार प्रदान गरिएको प्रअ चाम्लिङको भनाइ छ ।
विद्यालयले प्रदान गर्ने विद्यागत पुरस्कारमा आधारभूत कक्षा १–५ मा जेहेन्दार रहिल विश्वकर्मा, अनुशासन तर्फ विविशा राई, आधारभूत कक्षा ६–८ मा जेहेन्दार भावना पुरी, अनुशासनतर्फ देविन गिरी र माध्यमिक तह (कक्षा ९–१२) मा जेहेन्दारतर्फ जेनिशा श्रेष्ठ र अनुशासनतर्फ साबित्रा रम्तेललाई पुरस्कार प्रदान गरिएको छ । विद्यालयको सर्वोत्कृष्ट हुन सफल सदन कन्चनजङ्घा सदनलाईसमेत पुरस्कार प्रदान गरिएको प्रअ चाम्लिङले बताउनुभयो ।
वार्षिकोत्सव कार्यक्रममा मेयर विमला राईसँगै, प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठी, अर्खौलेका वडाध्यक्ष अर्जुनकुमार पुरी, नेपाल पत्रकार महासंघ खोटाङका पूर्व अध्यक्ष दमन राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका तस्विरहरु






