
खोटाङ, फागुन २६ । खोटाङमा एकै दिन तीन वटा घर जलेर नष्ट भएका छन् । जंगलमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी पांग्रेका सुमित्रा राईको दुई वटा घर र मतान जलेको छ । यस्तै, गाईवस्तुलाई खोले पकाउने क्रममा सल्किएको आगोले ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल नैसालाका मदन दाहालको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
स्थानीय असोजे सामुदायीक वनमा लागेको डढेलोले सुमित्राको दुई तले दुई वटा घर र एक तले एउटा मतानको छानासमेत जलेको हो । यस्तै, एउटा गोठ जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले बताउनुभयो । आगो नियन्त्रणमा लिने क्रममा स्थानीय भबिन राईको बायाँ खुट्टा मर्किएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो साँढे तीन बने सामुदायीक वनमा लागेको डढेलोले घर जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ११ जना, ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरिक्षकको कामाण्डमा ९ जना, प्रहरीचौकी बुईपाबाट २ जना, प्रहरी चौकी नुनथलाबाट २ जना र प्रहरीचौकी अर्खौलेबाट २ जना गरी २८ जनाको टोली खटिएका थिए । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि प्रहरीको टोली आ–आफ्नै कार्यालय फर्किएका छन् ।
यस्तै, घर नजिकै रहेको गोठमा गाईवस्तुका लागि खोले पकाउने क्रममा बालेको आगो सल्किँदा राखाबांदेलका मदन दाहालको ढुंगा माटोको पर्खाल र टिनको छाना भएको तीन तले घर जलेको हो । आगोले गुवाली जल्दा दुई वटा बाख्रा पनि जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागीमा दाहालको नगद ७० हजार, लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न, कागजपत्र लगायत जलेको प्रहरीले जनाएको छ ।
