
खोटाङ, फागुन ३० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले यो वर्ष पनि पुनः विद्यालयहरुमा नगर स्तरीय वार्षिक परिक्षा सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयहरुको कक्षा ४–९ सम्मको वार्षिक परिक्षा (एसईई) मोडलमा नगरपालिकाले सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाको निर्णय अनुसार (एसईई) को जस्तै परिक्षा केन्द्र तोकिने छ । फरक विद्यालयका शिक्षकलाई फरक विद्यालयमा खटाइने छ । नगरपालिकाको मातहतमा प्रश्नपत्र बनाउने र उत्तर पुस्तिका परिक्षण गर्ने काम हुने छ । हलेसी तुवाचुङमा कक्षा ४–९ सम्मको वार्षिक परिक्षा अघिल्लो वर्षबाट (एसईई) मोडलमा नगर स्तरीय गर्न थालिएको हो । अघिल्लो वर्ष नगर स्तरीय परिक्षा सञ्चालन गर्दा विद्यार्थीको क्षमता र विद्यालयको अवस्थाको निष्पक्ष मुल्याङकन भएको मेयर विमला राईले बताउनुभयो । अघिल्लो वर्ष विद्यालयहरुको सन्तोषजनक नतिजा आएको थिएन् । यो वर्ष केही सुधार हुने अपेक्षा गरिएको मेयर राईको भनाइ छ ।
‘पहिले सबै विद्यालयहरुमा १०० प्रतिशत विद्यार्थी उतिर्ण हुने गरेको पाइन्थ्यो, अघिल्लो वर्ष नगरको मातहतमा परिक्षा सञ्चालन गर्दा विद्यार्थीको सिकाइको अवस्था र शिक्षकले गर्नु पर्ने कामहरु छर्लङ्ग भएको छ ।’ मेयर राईले भन्नुभयो, ‘आफुले पढाएको विद्यार्थी परिक्षामा सफल नहुनु भनेको शिक्षक पनि असफल हुनु हो । त्यसैले अघिल्लो परिक्षाले सबैलाई सचेत गराएको छ, विषयगत शिक्षकहरुले मिहिनेत गर्नु भएको छ । यो वर्ष नतिजा सुधार हुनेमा हामी विश्वस्त छौँ ।’ शिक्षामा गुणस्तर ल्याउन यो परिक्षा प्रणालीले मदत गर्ने मेयर राइको भनाइ छ ।
नगरपालिकामा जम्मा ९० वटा सामुदायिक विद्यालय छन् । कक्षा ३ सम्मको परिक्षा स्वयं विद्यालयले गर्ने छन् । ४ देखि ९ सम्मको विद्यार्थीले फरक विद्यालयमा गएर परिक्षा दिनु पर्ने छ । अघिल्लो वर्ष ७० वटा विद्यालयलाई परिक्षा केन्द्र तोकिएको थियो । यो वर्ष चैत ६ गतेदेखि नगर स्तरीय परिक्षा सुरु गर्ने गरी नगरपालिकाले परिक्षा तालिका सबै विद्यालयलाई पठाइसकेको जनाएको छ ।
नगरको मातहतमा अघिल्लो वर्षबाट सुरु गरिएको वार्षिक परिक्षाले शैक्षिक सुधारमा कोशे ढुङ्गा साबित हुने च्यास्मीटार माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजकुमार राईले बताउनुभएको छ । विद्यालयको बास्तबिक अवस्था नतिजाले देखाउने भएकाले अघिल्लो वर्षबाट प्रथम हुन विद्यालयबीच प्रतिस्पर्धा सुरु भएको उहाँको भनाइ छ । अघिल्लो वर्ष भन्दा नतिजा सुधार गर्न शिक्षकहरुले मिहिनेत गरेको प्रधानाध्यापक राईले बताउनुभयो । यस्तै, महेन्द्रद्धोय माध्यमिक विद्यालयका प्रधानाध्यापक मनकुमार राईका अनुसार यस वर्ष नतिजामा केही सुधार हुने अपेक्षा विद्यालयहरुले पनि गरेका छन् । शिक्षामा गुणस्तर उकास्न नगरपालिकाले परिक्षामा एकरुपतासँगै अन्य विभिन्न काम पनि गरिरहेकाले नतिजा सुधार हुँदै जानेमा प्रधानाध्यापक राईको विश्वास छ । विद्यालयहरु पनि सकारात्मक प्रतिस्पर्धामा रहेको उहाँको भनाइ छ ।
नगर स्तरीय वार्षिक परिक्षामा उत्कृष्टहुने विद्यालयहरुलाई नगरपालिकाले नगद पुरस्कार पनि प्रदान गर्ने गरेको छ । अघिल्लो वर्ष ६–९ कक्षासम्मका विद्यार्थीको नतिजाको आधारमा प्रथम हुने विद्यालयलाई २ लाख नगद नगरपालिकाले प्रदान गरेको थियो । दोस्रो र तेस्रो हुने विद्यालयले ५० हजार र २० हजार नगद प्राप्त गरेका थिए ।यस्तै, कक्षा १–५ तर्फ पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश ५०, २० र १० हजार नगद प्रदान गरिएको थियो । यो वर्ष पनि सोही प्रकारले विद्यालयहरुलाई पुरस्कृत गरिने मेयर राईले बताउनुभयो ।
