
खोटाङ, चैत ३ । खोटाङ जिल्ला सदरमुकाम दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको विवाद टुङ्गिएको छ । सदस्य निर्वाचित भएर लामो समय अध्यक्ष चयन हुन सकेको थिएन् । शनिबारको छलफलले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत इन्दिरा बस्नेत कटुवाललाई चयन गरेको विद्यालयले जनाएको छ ।
समिति गठनका लागि गत जेठ २७ गते निर्वाचन भएको थियो । निर्वाचनमा एउटा प्यानलबाट इन्दिरा बस्नेत र डोरनाथ आचार्य, अर्को प्यानलबाट अकेला राई र नारायण राई निर्वाचित हुनुभएको थियो । शिक्षक प्रतिनिधि चन्द्रकुमार श्रेष्ठ पनि निर्वाचनबाटै चुनिनु भएको थियो । बाकी रहेको २ सदस्य मनोनयन गर्न र अध्यक्ष चुन्न पटक पटकको छलफलले सकेको थिएन् । ९ महिना पश्चात शनिबार फुर्वादोर्जी शेर्पा र सर्मिला विश्वकर्मालाई समितिको सदस्यमा मनोनित गरेर बस्नेतलाई अध्यक्ष सर्वसम्मत चुनिएको विद्यालयका प्रधानाध्यापक शिवहरी ढकालले बताउनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शिक्षा ऐन (पहिलो संशोधन २०७७) अनुसार ९ जनाको व्यवस्थापन समिति हुने प्रावधान छ । जसमा अभिभावकबाट २ महिलासहित ४ जना सदस्य, सम्बन्धित वडाको वडाध्यक्ष एवं वडा समितिले पठाएको एक जना सदस्य, वुद्धिजिवी, शिक्षा प्रेमी वा विद्यालयलाई निरन्तर सहयोग गरेकाहरुबाट एक महिलासहित २ जना मनोनित सदस्य, विद्यालयबाट एक जना शिक्षक प्रतिनिधि सदस्य र प्रधानाध्यापक सदस्य सचिव हुने व्यवस्था छ ।
विद्यालयबाहेकका छानिएका सदस्यहरुबाट एक जना अध्यक्ष हुने व्यवस्था छ । विवादका कारण २ जना सदस्य मनोनित गर्न र अध्यक्ष चुन्न सकिएको थिएन् । डोरनाथ आचार्य र अकेला राईबिच अध्यक्षको लागि प्रतिस्पर्धा भइरहेको थियो । तर, शनिबारको छलफलले तेस्रो ब्यत्तिलाई अध्यक्ष सर्वसम्मत गरेको छ । यस अघि ज्येष्ठ सदस्यको आधारमा नारायण राईले अध्यक्ष सम्हाल्दै आउनुभएको थियो ।
जिल्ला सदरमुकाममा रहेको सरस्वती मावि नमुना विद्यालयको सूचीमा मवाबेश छ । जिल्लाको सबै भन्दा धेरै विद्यार्थी रहेको सामुदायिक विद्यालय पनि समावी हो । तर राजनीतिका कारण विद्यालय व्यवस्थापन समिति टुङ्गिन सकेको थिएन । अध्यक्षमा निर्वाचित बस्नेत र सदस्य आचार्य माओवादी र कांग्रेसको प्यनालबाट निर्वाचित भएका हुन् । अकेला र नायरण एमाले र आधा कांग्रेसकै प्यानलबाट निर्वाचित हुन् । ४ जना सदस्यका लागि प्यानल बनाएर चुनाव भएको थियो । तर दुवै प्यानलका २/२ जना निर्वाचित भएपछि बहुमत नहुँदा समिति टुङ्गिन सकेको थिएन् ।
लामो समय समिति टुङ्गिन नसकेपछि नगरपालिकाले तीन दिन भित्र टुङ्ग्यान समाविलाई फागुन ३० गते पत्र नै पठाएको थियो । टुङ्ग्यान नसकेमा विद्यालयको खाता बन्द गर्ने लगायतको चेतावनी नगरपालिकाले दिएको थियो ।
