
खोटाङ, चैत ६ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा आगलागीबाट एउटा घर र मतान जलेर नष्ट भएको छ । मंगलबार (आज) दिउँसो २ः४० बजे एक्कासि घरमा आगलागीहुँदा डुम्रेधारापानी मण्डलीछापका भक्तबहादुर सुनुवारको खरको छाना भएको घर र मतान जलेर नष्ट भएको हो ।
घरमा वृद्धवृृद्धा मात्र भएको समयमा एक्कासि आको सुरु भएको थियो । स्थानीय नागरिक, प्रहरीहरु भेला भएपनि आगो नियन्त्रणमा लिन नसक्दा घर मतान सबै जलेर नष्ट भएको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञान बहादुर पाण्डेले बताउनुभयो । मानवीय क्षति भने भएको छैन् । घर र मतान जलेर नष्टहुँदा सुनुवारको अन्नपात, भाँडाकुडा, लत्ताकपडा सबै खरानी भएका छन् । परिवारका सदस्यले शरीरमा लगाएको कपडा बाहेक अरु केही नबचेको वडाध्यक्ष पाण्डेले बताउनुभयो ।
‘घरमा ९० वर्ष माथीका बुवा आमा मात्र हुनुहुदोरहेछ, अरु कामले घर बाहिर गएका रहेछन् । एक्कासी आगो लाग्न सुरु भएछ, म पनि पालिका केन्द्र हरमटारमा थिएँ, हतार आइपुगेँ, स्थानीयहरु आउनुभयो, मैले नै खबर गरेर प्रहरीहरु पनि आउनुभयो, तर आगो निभाउन सकिएन ।’ वडाध्यक्ष पाण्डेले भन्नुभयो, ‘घर मतान सबै जलेर नष्ट भयो, केही पनि बचाउन सकिएन । कसरी आगो लाग्यो भन्न सकिने अवस्था छैन्, नजिकै केटाकेटी पनि कोही छैनन् । नजिकै वन जंगलमा डढेलो लागेको पनि छैन् । खै कसरी हो एक्कासि घरमा आगो लागेछ ।’
वडाध्यक्ष पाण्डेको भनाइ अनुसार विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । यद्यपी कसरी आगलागी भयो भनेर पुष्टि नभएको उहाँको भनाइ छ । आगलागीबाट घर मतान जल्दा भएको क्षतिको विवरण आन बाकी रहेको प्रहरीले जनाएको छ ।
