Friday, April 17News That Matters

फुर्दिकु शेर्पाको स्वास्थ्यमा क्रमिक सुधार, सङ्कलन भएको १ लाख बढी रकम परिवारलाई हस्तान्त्रण

संकलन भएको सहयोग रकम हस्तान्त्रण गर्दै पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप खत्री, पूर्व अध्यक्ष दमन राई, पत्रकार चिसाङ शेर्पा र राप्रपाका नेता सर्जु श्रेष्ठ

खोटाङ, चैत ६ । मानसिक सन्तुलन गुमाएकी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी फुर्दिकु शेर्पाको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । हाल उनको मानसिक अस्पताल लगनखेलमा निःशूल्क उपचार भइरहेको छ । छोरी क्रमिक ठिक हुँदै आएको उनका बुवा पेमा शेर्पाले बताउनुभयो ।

मानसिक सन्तुलन गुमाएकी ३० वर्षीया फुर्दिकुले सबैलाई आक्रमण गर्न थालेपछि थेग्न नसकेर परिवारले आगनमा काठको खोर बनाएर राखेका थिए । उपचारको लागि अस्पताल लान परिवारसँग प्रयाप्त आर्थिक नहुँदा फुर्दिकुलाई गत माघ १६ गतेदेखि थुनेर राखिएको थियो । फागुन १२ गते विभिन्न मिडियाले फुर्दिकुको विषयमा समाचार प्रकाशन गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उद्दार गरेर उपचारका लागि लगेको हो ।

समाचार पढेर एवं समाचार भिडियो हेरेर धेरै ब्यक्तिले आर्थिक सहयोग गरेका छन् । शेर्पाको उपचार र उनको छोराको पठनपाठका लागि सङ्कलन भएको एक लाख बढी रकम बुवा पेमालाई हस्तान्त्रण गरिएको छ । नेपाल पत्रकार महासंघ खोटाङका सहसचिव चिसाङ शेर्पाको खातामा जम्मा भएको १ लाख ४ हजार ६०७ रुपैयाँ रकम बुवालाई हस्तान्त्रण गरिएको छ । उपचारको लागि लादै गर्दा तत्काल सङ्कलन भएको ३० हजार ५ सय फागुन १४ गते नै हस्तान्त्रण गरिएको थियो । बाकी ७४ हजार २ सय ७ रुपैयाँ मंगलबार महासंघका अध्यक्ष दिलिप खत्रीले हस्तान्त्रण गर्नुभएको हो । विभिन्न संघ संस्था र ब्यक्ति गरी ५६ जनाबाट उक्त सहयोग रकम प्राप्त भएको पत्रकार शेर्पाले बताउनुभयो । पत्रकार शेर्पाको अग्रसरमा सहयोग रकम सङ्कलन भएको हो ।

कक्षा दशमा पढ्दै गर्दा पहिलो पटक फुर्दिकुमा मानसिक रोग देखिएको थियो । औषधि उपचार पश्चात ठिक भएको थियो । बिबाह गरेर एक सन्तानको जन्म भएपछि श्रीमान्को मृत्यु भयो । त्यसपछि पुनः उनी सोही रोगको सिकार बनिकी हुन् । भोजपुर बिबाह गरेकी फुर्दिकुलाई श्रीमानको मृत्यु पश्चात परिवारले राम्रो नगरेपछि माइती घर नुनथलामा बस्दै आउकी हुन् । फुर्दिकुको ६ वर्षको एक छोरो छन् ।