
खोटाङ, चैत ७ । घर आगलागी भएपछि खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानी मण्डलीछापका भक्तबहादुर सुनुवारको परिवारको बिचल्ली भएको छ । मंगलबार दिउँसो एक्कासि आगलागीहुँदा सुनुवारको घर र मतान पूर्णरुपमा जलेर नष्ट भएको छ । ११ जनाको सुनुवारको परिवार अहिले छिमेकी तुलसी बहादुर सुनुवारको घरमा बसिरहेको वडाध्यक्ष ज्ञान बहादुर पाण्डेले बताउनुभयो ।
घर र मतान जलेर नष्टहुँदा अन्नपात, लत्ताकपडा, भाँडाकुडा सबै जलेर खरानी भएका छन् । बिचल्ली भएको सुनुवारको परिवारलाई तत्काल आवश्यक खाद्यन्न, लत्ता कपडा र भाँडाकुडा वडा कार्यालय र रेडक्रस उपसाशाखा डुम्रेधारापनीले मंगलबार साँझ नै उपलब्ध गराएको छ । वडाकोतर्फबाट ६० किलोग्राम चामल, एक काटुन खानेतेल, तीन किलोग्राम दाल, चिनी र नुन उपलब्ध गराइएको वडाध्यक्ष पाण्डेले बताउनुभयो । यस्तै, रेडक्रसबाट एउटा पाल, लत्ता कपडा, डोरी, भाँडाकुडा, बाल्टि र कम्बल उपलब्ध गराइएको छ । सुनुवारको घर पुर्ननिर्माणको लागि गाउँपालिका र विभिन्न ब्यत्तिसँग पहल गरिरहेको वडाध्यक्ष पाण्डेको भनाइ छ ।
घरमा वृद्धवृद्धा मात्र भएको बेला मंगलबार दिउँसो २ः४० बजे एक्कासि आगलागी भएको थियो । केही समयमा स्थानीय र प्रहरीहरु जुटेपटि आगो नियन्त्रणमा लिन नसक्दा घर र मतान पूर्णरुपमा जलेर नष्ट भएको थियो । विद्युत सर्ट भएर घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मानवीय क्षति र पशुचौपायमा क्षति भने भएको छैन् । घर भित्र रहेका अन्नपात, नगद पैसा, सुन, लत्ताकपडा, भाँडाकुडा सबै जलेर खरानीहुँदा ९ लाख ४५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी (प्रहरी निरीक्षक बेनु कार्कीले बताउनुभयो ।
