
खोटाङ, चैत ७ । विद्युत सर्ट भएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा २ घर जलेर नष्ट भएको छ । बुधबार बिहान राती १ः५० बजे विद्युत सर्ट भएर आगालीहुँदा जालपा पुरानो गाउँका भगत बहादुर राई र भिम राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
भगत राई र भिम राई नाताले बुवा छोरा हुन् । वृद्ध भगत राई र उनकी वृद्धा श्रीमती एउटा घरमा बस्दै आएका थिए । साइला छोरा भिम राईको परिवार अर्को छुट्टै घरमा बस्दै आएको थियो । राती अचानक विद्युत सर्टहुँदा दुई वटै घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी (प्रहरी निरक्षिक) बेनु कार्कीले बताउनुभयो ।
भगत राईको ढुङ्गा, माटो र काठले बनेको जस्ताको छानो भएको २ तले घर र उक्त घर भित्र रहेको, अन्नपात लत्ताकपडा, भाँडाकुडा, कागजपत्र जलेर नष्टहुँदा ३० लाख बराबरको क्षति भएको छ । यस्तै, छोरा भिम राईको सोही प्रकारको घर र घर भित्रका अन्नपात लत्ताकपडा, भाँडाकुडा र कागजपत्र जलेर नष्टहुँदा ३० लाख बराबरकै क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर जलेर नष्टहुँदा बिचल्ली भएको परिवारलाई राहत प्रदान गर्न रेडक्रस खोटाङको टिमसँगै नगरपालिकाका मेयर तीर्थ भट्टराई पनि जाने तयारीमा रहेको बताउनुभएको छ । यस्तै, हङकङ सेवा समाजले पनि राहत प्रदान गर्ने तयारी गरेको जानकारी आएको जालपाका वडाध्यक्ष दान बहादुर राईले बताउनुभयो । आफु हाल विशेष कामले जिल्ला बाहिर रहेको र केही दिनमा फर्किएर जलेका घरहरु पुनर्निमाणमा जुट्ने वडाध्यक्ष राईको भनाइ छ ।
