Saturday, July 27News That Matters

खोटाङमा एक दम्पतीसहित तीन दृष्टिविहिन बने स्थायी शिक्षक

स्थायी शिक्षक हुनुभएका दृष्टिविहिन दम्पती उमेश राई र सुर्यमायाँ लिम्बु, साथमा स्थायी शिक्षक हुनुभएका भक्त बहादुर विश्वकर्मा ।

खोटाङ, चैत २७ । खोटाङमा एक दम्पतीसहित तीन दृष्टिविहिन ब्यक्तिहरु स्थायी शिक्षक हुनुभएको छ । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको सम्पुर्ण परीक्षामा सफल भएर सोमबार तीनै जनाले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय खोटाङबाट नियुक्ती पत्र बुझ्नुभएको छ ।

केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका दृष्टिविहिन उमेश राई र उहाँकी श्रीमती सुर्यमायाँ लिम्बूले प्राशि स्थायीमा नाम निकाल्नु भएको हो । जन्मजात दृष्टिविहिन दम्पत्तीले मंगलबार केपिलासगढी गाउँपालिकाबाट पदस्थापना पत्रसमेत लिइसक्नु भएको छ । । राई केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित शुक्रजित माबिमा र लिम्बू केपिलासगढी गाउँपालिका–३ बासपानीको मनोकामना आधारभुत विद्यालयमा सिफारिस हुनुभएको छ ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० वर्षीय दृष्टिविहिन भक्तबहादुर बिश्वकर्माले पनि प्राशि स्थायीमा नाम निकाल्नु भएको छ । ८ वर्षको उमेरमा आँखाको ज्योती गुमाउनु भएका बिकले स्थायी शिक्षकमा नाम निकालेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सिफारिस हुनुभएको छ । उहाँ नगरपालिका भित्रको कुनै एक विद्यालयमा खटिनु हुने बताइएको छ ।

स्थायी शिक्षकमा नाम निकाल्न सफल दृष्टिविहिन तीनै जना ब्यक्तिले लेखक सहयोगी राखेर परीक्षा दिनुभएको थियो । केपिलासगढी गाउँपालिकाका राई एक वर्षदेखि भगवती माबि बेलबारीमा मावि राहतमा कार्यरत हुनुहुन्थ्यो । त्यसअघि उहाँले दृष्टिविहिनलाई पढाउने पुर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरानमा सात वर्ष काम गरेको बताउनुभयो । उहाँकी श्रीमती लिम्बू भने हालसम्म पुर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा अध्यापन गरिरहनुभएको थियो । खोटाङबाट धरान झरेका राई र बराहक्षेत्र नगरपालिका चक्रघट्टी, सुनसरी निवासी लिम्बूबीच २०७७ सालमा विवाह भएको थियो ।

राई आँखाको उपचारका सिलसिलामा वाल्यवस्थामै धरान झरेको सुनाउनुहुन्छ । धरानमा राईको आँखाको ज्योती फर्किएन तर धरानले उचित शिक्षादिक्षा दिलाएको थियो । स्थायी शिक्षकमा नाम निस्केपछि राई श्रीमतिसहित गाउँ फर्किनुभएको हो ।

यस्तै, स्थायी शिक्षकमा नाम निकाल्न सफल विश्वकर्माको ८ वर्षको उमेरमा आँखाको ज्यति भएको बताउनुहुन्छ । आठ वर्षको उमेरमा भक्तको टाउकोमा पिलो आएको थियो । स्वास्थ्यचौकी बाक्सिलामा गएर पिलो फुटाउने क्रममा आँखाको नशा बिग्रेका कारण ज्योती गुमाउनु परेको उहाँको भनाइ छ । लिखित परीक्षामा कक्षा १० मा अध्ययनरत नवराज भट्टराईलाई लेखक सहयोगी राखेर परीक्षा दिनुभएका विकले दोश्रो पेपरमा ११० जनाले परीक्षा दिएकामा ७८ जना उत्तिर्ण हुँदा ४९ औं नम्बरमा नाम निकाल्नु भएको हो । पहिलोपल्ट शिक्षक सेवा आयोगको परीक्षा दिनुभएका विकले एकैसाथ खुला, दलित र अपाङ्ग समुहतर्फ नाम निकाल्नु भएको थियो ।

इपिएममा स्नातकोत्तर अध्ययनरत बिक दुई वर्षअघिदेखि दिक्तेल इंलिस बोर्डिङ स्कुलमा संगीत शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । २०७१ सालदेखि संगीतमा लाग्नु भएका बिकले साईनो कला केन्द्र, खोटाङका अध्यक्षको जिम्मेवारी पनि सम्हालीरहेका छन् । उहाँका ६ वटा गीत रेकर्ड पनि भएका छन् ।