
खोटाङ, वैशाख ५ । हलेसी तुवाचुङ नगरपालिकाका सामुदायिक विद्यालयको नतिजामा सुधार आएको छ । अघिल्लो वर्षको तुलानामा यस वर्ष नतिजामा सुधार आएको हो ।
अघिल्लो वर्षदेखि कक्षा ४–९ सम्मको वार्षिक परीक्षा नगर स्तरीय (एसईई) मोडलमा सञ्चालन गर्न थालिएको छ । अघिल्लो वर्ष करीब २२ प्रतिशत विद्यार्थी मात्र सबै विषयमा उतिर्ण भएका थिए । यस वर्ष ४०.६३ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । ३६.३४ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने भएका छन् । २३.०३ प्रतिशत विद्यार्थीको नतिजा भने ननग्रेड रहेको छ । अर्थात उनीहरुले कक्षा दो¥याउनु पर्ने देखिएको नगरपालिकाले जनाएको छ ।
गत वर्षदेखि हलेसी तुवाचुङका सामुदायिक विद्यालयको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन व्यवस्थित गर्न थालिएको हो । कक्षा ४–९ सम्मको वार्षिक परीक्षामा (एसईई) को जस्तै परीक्षा केन्द्र तोकिएको थियो । फरक विद्यालयका शिक्षकलाई फरक विद्यालयमा परीक्षा केन्द्र अध्यक्ष बनाएर खटाइएको थियो । नगरपालिकाको मातहतमा प्रश्नपत्र बनाउने र उत्तरपुस्तिका परीक्षण गर्ने काम सम्पन्न भएर नतिजा प्रकाशित गरिएको हो ।
शैक्षिक सत्र २०८० मा कक्षा ४–९ सम्म नगरपालिका भरी सबै सामुदायिक विद्यालयबाट २ हजार ७०५ जना विद्यार्थी परीक्षामा सहभागि थिए । जसमध्ये १ हजार ९९ जना अर्थात ४०.६३ प्रतिशत विद्यार्थी उतिर्ण भएका हुन् । अघिल्लो वर्षको तुलानामा यस वर्ष १८ प्रतिशत नतिजामा सुधार आएको देखिएको छ ।
सामुदायिक विद्यालयको नतिजा अझै सन्तोषजनक नभएपनि अघिल्लो वर्षको तुलानामा सुधार देखिएको हलेसी तुवाचुङका मेयर विमला राईले बताउनुभयो । ‘तुलानात्मक नतिजा सुधार भएको छ, जुन उद्देश्यले यो परीक्षा प्रणाली सुरु गरियो, उद्देश्य अनुसार सुधारहुँदै आएको छ ।’ मेयर राईले भन्नुभयो, ‘अहिले विषयगत शिक्षकहरु पनि आफ्नो विषयमा विद्यार्थी कसरी उतिर्ण गराउने भनेर लाग्नु भएको छ, परीक्षामा अनुतिर्ण नै हुने व्यवस्था गरेपछि विद्यार्थीले पनि मिहिनेत गर्न थालेका छन् ।’ जसले गर्दा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधारहुँदै जाने उहाँको भनाइ छ ।
नगर स्तरीय परीक्षामा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । खराब नतिजा ल्याउने विद्यालय र विषयगत शिक्षकलाई कारबाही पनि हुने व्यवस्था गरिएको छ । जसकारण विद्यालयबीच प्रतिस्पर्धा र विद्यार्थीबीच पनि प्रतिस्पर्धा भएकाले नतिजा सुधारउन्मुख देखिएको महेन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक मनकुमार राईले बताउनुभयो । आगामी वर्षमा अझ नतिजा सुधार हुँदै जाने आशा गरिएको छ ।
अघिल्लो वर्ष ६–९ कक्षासम्मका विद्यार्थीको नतिजाको आधारमा प्रथम हुने विद्यालयलाई २ लाख, दोस्रो र तेस्रो हुने विद्यालयले ५० हजार र २० हजार नगद प्रदान गरिएको थियो । यस्तै, कक्षा १–५ तर्फ पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश ५०, २० र १० हजार नगद प्रदान गरिएको थियो । कक्षागत प्रथम हुने विद्यार्थीलाई जनही १० हजार पुरस्कार प्रदान गरिएको थियो । यो वर्ष पनि सोही प्रकारले विद्यालयहरुलाई पुरस्कृत गरिने मेयर राईले बताउनुभयो । विद्यार्थीहरुको नतिजा प्रकाशित भएपनि सबै विद्यार्थीको नतिजाका आधारमा समग्र विद्यालयको नतिजा निकाल्न भने बाकी रहेको नगरपालिकाले जनाएको छ ।
सामुदायिक विद्यालयको शिक्षाको बास्तकिता प्रष्ट बाहिर निकाल्न अघिल्लो वर्षबाट (एसईई) मोडलमा परीक्षा सुरु गरेको नगरपालिकाले यस वर्ष नतिजामा सुधार ल्याएको छ । आगामी वर्षमा थप सुधार हुने मेयर राईको विश्वास छ । नगरपालिका भरी ९० वटा सामुदायिक विद्यालय रहेका छन् । शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम गरिरहेको नगरपालिकाले यस वर्ष आफ्नै बजेटमा १५ वटा विद्यालयका भवन बनाउदै छ । कक्षा १२ सम्म शुन्य शूल्क (जेरो फि) कार्यक्रम लागू गरेको छ । कक्षा १२ सम्म अध्ययन गर्न विद्यार्थीलाई कुनै शूल्क लाग्दैन् । आवश्यकता अनुसार शिक्षकहरुको दरवन्दी मिलान गरेको नगरपालिकाले जनाएको छ । सुत्केरी बिदामा बसेका शिक्षकको सट्टामा नगर शिक्षकसमेत राखिएको छ ।
