Wednesday, April 15News That Matters

नेपाली कांग्रेसको तल्‍लो तहका अधिवेशन स्थगित

नेपाली कांग्रेसले साउन १२ गते हुने वडा लगायत सबै तहका अधिवेशन स्थगन गरेको छ। शनिबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले तल्लो तहका सबै अधिवेशन स्थगन गर्ने निर्णय गरेको हो।

साउन १२ बाट गरिने भनिएको वडा तहको अधिवेशन क्रियाशील सदस्यता विवादले स्थगन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएपछि अर्को मिति तोकिने उनले बताए। स्थानीय तलको अधिवेशनको तालिका फेरिने भए पनि यसबाट केन्द्रीय अधिवेशनको कार्यतालिका भने प्रभावित नहुने शर्माले बताए। केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने उनले जानकारी दिए।

वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउने पनि शर्माले बताए। पदाधिकारी बैठकमा महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भएको नेताहरुले बताएका छन्। पुरानै प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानुनी र संवैधानिक उपाय सोच्ने लगायतका विकल्पमा छलफल भएको बुझिएको छ। कांग्रेसले १४ औं महाधिवेशन भदौ १६ देखि काठमाडौंमा हुने गरी तोकिएको छ।