Saturday, April 18News That Matters

सामाजिक सेवा दिवसमा खोटाङमा तीन व्यक्ति सम्मानित

खोटाङ, असोज १५ : ४२ औँ सामाजिक सेवा दिवसका अवसरमा खोटाङमा तीन जना व्यक्ति सम्मानित भएका छन् । सामाजिक क्षेत्रमा विशेष योगदान दिने तीन जनालाई सम्मान गरिएको गैरसरकारी संस्था महांसघ नेपाल, जिल्ला शाखा खोटाङका अध्यक्ष दानबहादुर राईले जानकारी दिनुभयो । 

सम्मानित हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडा सदस्य प्रकाशकुमार श्रेष्ठ, सोही वडाका युवा कविराज रिजाल र सोही नगरपालिका २ सोल्माका समाजसेवी चन्द्रप्रसाद आचार्य रहनुभएको छ । 

वडा सदस्य श्रेष्ठलाई कोभिड महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहेर अहोरात्र खटिएको, रिजाललाई कलिलो उमेरमै पनि कोभिड महामारी नियन्त्रणमा दिलोज्यान लगाएर खटिएको तथा आचार्यलाई वृद्धवृद्धा, अशक्त तथा अपांगलाई ४ हजार २ सय बढी लट्ठी निःशुल्क वितरण गरेर सहयोग गरेकाले सम्मान गरिएको अध्यक्ष राईले बताउनुभयो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र विशेष अतिथि गैसस महासंघ खोटाङका संस्थापक अध्यक्ष विकास राईले दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गर्नुभयो ।

यस्तै कार्यक्रममा नगरपालिकाका ७ जना शारीरिक रूपमा अशक्त तथा अपांग विद्यार्थीहरूलाई झोला पनि वितरण गरिएको छ । सो अवसरमा कार्यक्रमका विशेष अतिथि गैसस महासंघ खोटाङका संस्थापक अध्यक्ष राईले ५ जना छात्रछात्रालाई १५ हजार नगद सहयोग गर्नुुभएको पनि गैसस महासंघ अध्यक्ष राईले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितको सभाहलमा आयोजित कार्यक्रममा नजिकिँदै गरेको दसैँ, तिहारलगायत चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्था प्रनिनिधि, राजीनितक दलका प्रतिनिधि, बुद्धिजीवि, समाजसेवी, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।