Friday, April 17News That Matters

हलेसीमा दर्शनार्थीको चहलपहल घट्यो

पूर्वको पशुपति नामले परिचित त्रिधार्मिक स्थल हलेसी मन्दिरमा भक्तजनहरूको चहलपहलमा कमी आएको छ । कोरोना कहरका कारण साढे चार महिना बन्द रहेको मन्दिर गत भदौ २८ गतेबाट पुनः खुला गरिएको भए पनि विगतको तुलनामा भक्तजनहरूको चहलपहलमा कमी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

सोमबार र शनिबार हजारौँ र अन्य दिन सयौँको सङ्ख्यामा भक्तजनहरू हलेसी मन्दिर दर्शन गर्न आउने गरेका थिए । तर, हाल भने भक्तजनहरूकोे आगमनमा कमी आएको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले जानकारी दिनुभयो । शनिबार करिब डेढ सय भक्तजन दर्शन गर्न मन्दिर आएका थिए भने अन्य दिन दशनार्थीको आगमन शून्य जस्तै रहेको उहाँले बताउनुभयो । 

हिन्दु धर्मालम्बीहरूको सोह्र श्राद्ध चलिरहेको कारण मन्दिरमा भक्तजनको आगमन कम भएको हुन सक्ने व्यवस्थापन समितिको आँकलन छ । जिल्लामा कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गएपछि वैशाख १५ गतेबाट हलेसी मन्दिर बन्द गरिएको थियो । भाइरस संक्रमण दर कम भएसँगै गत भदौ २८ गतेबाट भक्तजनको लागि हलेसी मन्दिर खुला गरिएको छ ।

कोरोना भाइरसलाई मध्यनजर गर्दै हलेसी गुफाभित्र प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने छ भने एक पटकमा १५ जना भन्दा बढी भक्तजन प्रवेश गर्न नपाइने नियम लगाइएको छ । यस्तै गुफा प्रवेश गर्दा र बाहिर निस्कँदा फरक ढोकाको प्रयोग गर्ने व्यवस्था रहेको पनि व्यवस्थापन समितिका अध्यक्ष राईले बताउनुभयो ।