Friday, April 17News That Matters

खोटाङमा धामी झाँक्रीलाई तालिम

तस्वीर : इन्द्र कसजू

खोटाङ असोज १८ गते : खोटाङमा धामी झाँक्रीलाई तालिम प्रदान गरिएको छ । झारफुक गर्न धामी झाँक्रीसँग आउने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माणका लागि नेपाल नेत्र ज्योति संघ खोटाङको समन्वयमा सगरमाथा चौधरी आँखा अस्पताल लहानले तालिम प्रदान गरिएको हो ।

जिल्लाको दुई स्थानमा तालिमको आयोजना गरिएको थियो । जसमा दिक्तेलमा आयोजना गरिएको तालिममा २८ जना र हलेसीमा आयोजना गरिएको तालिममा ३५ जना धामी झाँक्रीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

गाउँघरमा अझै पनि धामी झाँक्रीकै बिश्वास गर्ने र बिरामी पहिले धामी झाँक्रीसँगै जाने भएकाले आँखाका बिरामीलाई स्वास्थ्य संस्था वा विशेषज्ञ डाक्टरकहाँ गएर उपचार गराउनका लागि आग्रह गर्न तालिमको आयोजना गरिएको नेपाल नेत्र ज्योति संघका अध्यक्ष इन्द्र कसजूले बताउँनु भयो ।

कतिपय आँखाका बिरामीहरु अस्पतालसम्म नआइपुग्ने र आँखाको ज्योती गुमाउने गरेका कारण त्यस्ता बिरामीलाई अस्पतालसम्म ल्याउन धामी झाँक्रीको सहयोग लिने योजनाले तालिम प्रदान गरिएको अध्यक्ष कसजूको भनाई छ ।