Friday, April 24News That Matters

बजार अनुगमन : दिक्तेलबजारमा ४५ हजार बढीको अखाद्य सामग्री नष्ट

२४ असोज, खोटाङ । चाडपर्व लक्षित बजार अनुगमनका क्रममा खोटाङ सदरमुकाम दिक्तेलबजारमा कैफियत भेटिएका अन्दाजी ४५ हजार रकम बढीको सामग्री नष्ट गरिएको छ । शुक्रबार, शनिबार र आइतबार गरिएको बजार पसल अनुगमनबाट सो रकम बराबरको उपभोक्ता हित विपरीतका सामग्री नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।

अनुगमनका क्रममा सडेको, प्रतिबिन्धित, म्याद गुज्रेका र उत्पादन मिति उल्लेख नभएका सामग्री नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो । जफत गरिएका केही सामग्री कारबाहीमा पर्न सक्ने देखिएकाले छानबिनको प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

अनगुगमनका क्रममा उपभोक्ता हित विपरीतका व्यापारिक कार्य गर्ने पसल सञ्चालकहरूलाई आगामी दिनमा गल्ती नदोहो-याउन सचेत गराइएको पनि सहायक प्रजिअ श्रेष्ठले बताउनुभयो । साथै बजार अनुगमन कार्य नियमित सञ्चालन हुने पनि उहाँको भनाइ छ ।

चाडपर्वको बेला व्यापारीहरूले अस्वाभाविक मूूल्य वृद्धि गर्ने, म्याद गुुज्रेका तथा गुणस्तरहीन वस्तुु बिक्री गर्नेजस्ता समस्या देखिन सक्ने भएकाले अनुगमन तीव्र पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमनका क्रममा केही कैफियत भेटिए कानुनबमोजिम जरिवाना तथा कारबाही गरिने पनि कार्यालयले चेतावनी दिएको छ ।