
२४ असोज, खोटाङ । दसैँ, तिहारलगायत चाडपर्व मनाउन खोटाङ जिल्ला भित्रिनेको संख्या बढेको छ । जिल्लाबाहिर कर्मथलो बनाई जन्मथलो आउनेहरूको संख्या बढेको हो ।
शुक्रबारसम्म फाट्टफुट्ट मात्र यात्रु जिल्ला भित्रिएकोमा शनिबार र आइतबार जिल्ला भित्रिनेको संख्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ । हालसम्म जिल्लाबाहिरबाट करिब एक हजार जना जिल्ला भित्रिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीले जानकारी दिनुभयो । जिल्लाबाट बाहिरिनेको संख्या भने न्यून रहेको उहाँको भनाइ छ ।
चाडपर्वमा यात्रु समस्यामा पर्न सक्ने कुरालाई मध्यनजर गर्दै सदरमुकाम दिक्तेलस्थित रत्नपार्कमा यात्रु सहायता कक्ष पनि सञ्चालनमा ल्याइएको छ । सहायता कक्षबाट भाडा दर, गाडी छुट्ने समय, यात्राको क्रममा सामान छुटे वा यात्रुमाथि अभद्र व्यवहार भए जानकारी लिनदिन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।
