
खोटाङ असोज २० : मकैको खोसेलाबाट बन्ने विभिन्न सामग्री निर्माणका लागि हलेसी तुवाचुङ नगरपालिकाका महिलालाई यस सम्बन्धी सीप विकास तालिम प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ खोटाङसँगको समन्वयमा १२ दिनको आधारभूत तालिम दिइएको नगरपालिकाकी उपप्रमुख विमला राईले जानकारी दिनुभयो ।
हलेसी तुवाचङ नगरपालिका–७, ऐँसेलुखर्कमा असोज ८ देखि १९ गतेसम्म सञ्चालन भएको तालिममा १९ जना महिला सहभागी थिए । सहभागीहरूलाई यसअघि नगरपालिकाले आयोजना गरेको तालिममा लिनुभएकी मनिषा राईले प्रशिक्षण दिनुभएको थियो । मकैको खोसेलाबाट झोला, डोर म्याट, चप्पल, ढाकी, ह्याट, टि–म्याट, फूलदानी, पिरा, डायनिङ म्याट, चकटी, पूजाका सामग्री बोक्ने झोलालगायतका सामग्री उत्पादन गर्ने तालिम दिइएको हो ।
सामान्यतया घाँसको रूपमा गाईवस्तुलाई खुवाउने गरिएको खोस्टाबाट घरायसी आकर्षक घरायसी सामग्री उत्पादन गरी त्यसलाई बिक्री वितरण गरेर महिलाहरूको आयआर्जन सुनिश्चितता तथा उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम प्रदान गरिएको उपप्रमुख राईले बताउनुभयो ।
उत्पादित सामग्री बाह्य राष्ट्रसम्म निर्यात गर्ने लक्ष्य रहेको तथा बजारीकरणका लागि नगरपालिकाले सहजीकरण गरेको उपप्रमुख राईले बताउनुभयो । नगरपालिकाले यसअघि आयोजना गरेको तालिममा सहभागी केही महिलाहरूले सामग्री उत्पादन थालिसकेका उहाँले जानकारी दिनुभयो । वडा नं. ३, च्यास्मिटारका महिलाले उत्पादन गरेका सामग्री बिक्रीसमेत भइसकेको छ । कोरोना महामारीका कारण सोचेअनुरूप सामग्री बजारमा पु¥याउन भने नसकिएको उहाँको भनाइ छ ।
उपप्रमुख राईले यअसघि तालिम लिएका केही महिलाले जिल्लासहित जिल्लाबाहिर समेत तालिममा प्रशिक्षण दिएको बताउनुभयो ।
‘हामीले तालिम दिएका केही महिला उद्यमीले आफ्नो सीप बाँडेर अरू महिलालाई पनि आफूजस्तै आत्मनिर्भर बन्न सिकाउनुभएको छ ।’ उपप्रमुख राईले भन्नुभयो, ‘यसलाई तालिमको ठूलो उपलब्धिका रूपमा लिएका छौँ ।’
सामग्री उत्पादनका लागि कच्चा पदार्थको अभाव नहुने र सबैका घरमा सहजै मकैको खोस्टा उपलब्ध हुने भएकाले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन तालिम दिइएको उपप्रमुख राईको भनाइ छ । आवश्यकता र मागअनुसार थप तालिम प्रदान गरिने पनि उहाँले बताउनुभयो ।


