
१५ कात्तिक, खोटाङ । जिल्लामा वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट बच्न विद्यार्थीलाई सचेतना प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेस्थित शितला माविका विद्यार्थीहरूलाई सोसम्बन्धी सचेतना प्रदान गरिएको हो ।
विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई वैदेशिक रोजगारीका कारण हुन सक्ने मनोसामाजिक समस्या र ठगी तथा त्यसबाट जोगिने उपायबारे सचेतना दिइएको हो । वैदेशिक रोजगार सेवा समाज दिक्तेलको आयोजना र सुरक्षित आप्रवासन परियोजना (सामी), खोटाङको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा सामीका कार्यक्रम संयोजक सन्तोष राई र सोही परियोजनाका मनोसामाजिक परामर्शदाता प्रमोद श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा खाल्लेका वडाध्यक्ष डिल्लीकुमार राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज केसी र अन्य पदाधिकारी, शिक्षकहरू उपस्थित थिए ।
