Thursday, April 16News That Matters

पाथेकामा चाडै विद्युतीकरण गरिने, दिक्तेलबजारका नांगो तार पनि हट्ने

खोटाङ, मङ्सिर १९ । नेपाल विद्युत प्राधिकरण प्रदेश १ कार्यालयका निर्देशक राजन ढकालले खोटाङको दिक्तेल रुपाकाट मझुवागढी नगरपालिका–१० पाथेकामा विद्युतीकरणका लागि आवश्यक बजेट व्यवस्थाका लागि पहल गर्ने बताउनुभएको छ । प्राधिरकरणको प्रादेशिक कार्यालय विराटनगरमा भएको छलफलमा निर्देशक ढकालले पाथेकाका प्रत्येक घरधुरीमा विद्युत विस्तार गर्न १ करोड ८६ लाख बजेटका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

आज नेपाली कांग्रेस खोटाङका जिल्ला सचिव ज्ञानेन्द्र जोशी र कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगर सभापति प्रकश श्रेष्ठ र विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मी माग लिएर प्राधिरकणको प्रादेशिक कार्यालय विराटनगर पुग्नुभएको थियो ।

सो क्रममा भएको छलफलमा करिब ८ सय घरधुरी रहेको पाथेकामा एउटा मात्र ट्रान्सफर्मर रहेको र सबै घरमा विद्युतीकरणका लागि अझै ५÷६ वटा ट्रान्सफर्मर आवश्यक पर्ने भएकाले यसका लागि आवश्यक पहल गरिदिन उहाँहरूले निदेर्शक ढकाललाई आग्रह गर्नुभएको थियो । निर्देशक ढकालले त्यसका लागि आफूले प्रदेश र केन्द्र सरकारसँग आवश्यक बजेट माग गर्ने बताउनुुभयो ।

छलफलमा सदरमुुकाम दिक्तेलबजारमा रहेका नांगो तार हटाएर केबल तार राख्ने विषयमा पनि ध्यानाकर्षण गराइएको र त्यो काम पनि चाँडै सुरु गर्ने निर्देशक ढकालले बताउनुभएको दिक्तेल वितरण केन्द्र प्रमुख रेग्मीले बताउनुभयो ।

यस्तै जिल्लाभर विद्युतीकरणका क्रममा राखिएका काठे पोल विस्थापित गरी फलामे पोल राख्ने विषयमा पनि छलफल भएको र उक्त काम पनि चाँडै सुरु गर्ने निर्देशक ढकालको भनाइ आएको रेग्मीले बताउनुभयो ।