Thursday, April 16News That Matters

खोटाङका चार युवतीद्वारा ‘उठ छोरी परिवर्तनका लागि’ अभियान सुरु


पवन खड्का,

खोटाङ, मङ्सिर १९ । जिल्लाका चार युवतीले महिला हिंसा विरुद्ध ‘उठ छोरी परिवर्तनका लागि’ नामक अभियान सुरु गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी निर्मला आचार्य ‘सुनाखरी’, सोही स्थानकी यशोदा रिजाल, सोही नगरपालिका–१ दिक्तेलकी सुलोचना आचार्य र ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलकी रोजिना दमाईको अगुवाइमा उक्त अभियान सुरु भएको हो ।

आज कालिका माध्यमिक विद्यालय, नेर्पामा कार्यक्रम गरी अभियानको सुरुवात गरिएको अभियन्ता निर्मला आचार्यले जानकारी दिनुभयो । ‘घर–घरबाट उठौँ, सबै महिला जुटौँ’, ‘हिसां गर्नेभन्दा हिंसा सहने दोषी हुन्छ । त्यसैले सधैँको लागि हिंसा विरुद्ध लागौँ’ भन्ने नारा तय गरिएको अभियानमा साथ दिन चाहनेलाई जोड्दै लैजाने निर्मलाले बताउनुभयो ।

महिलाहरूमा हिंसा विरुद्ध चेतना जागृत गर्दै महिला पनि सबै काम गर्न सक्षम रहेको सन्देश प्रवाह गर्नु अभियानको मूल उद्देश्य रहेको उहाँको भनाइ छ । त्यसका लागि विश्वका सफल महिलाहरूको उदाहरण दिँदै महिला हिंसाको परिभाषा, अहिले घटिरहेका घटनाहरू, पीडकलाई संविधानमा व्यवस्था भएको कानुनी सजायबारे जानकारी गराइएको छ ।

अभियानलाई जिल्लाका अन्य विद्यालयसहित गाउँ गाउँमा पनि पु-याउने योजना रहेको आयोजक ‘म छोरी हो तर कमजोरी होइन’ ले जनाएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सुरु गरिएको भए पनि आफूहरूको अभियान केवल यसैमा सीमित नभई बाँकी दिनहरूमासमेत निरन्तरता दिइने अभियन्ता निर्मलाले बताउनुभयो ।

महिलाहरूलाई आफ्नो अधिकार, सक्षमता र हिंसा विरुद्ध सचेतना फैलाउनका लागि ‘म छोरी हो तर कमजोरी होइन’ नामक फेसबुक ग्रुप पनि सिर्जना गरिएको छ ।

अभियानका लागि नेर्पाका मनोज आचार्यले आर्थिक सहयोग गर्नुभएको छ ।