Thursday, April 16News That Matters

खोटाङमा समय अगावै सुत्केरी व्यथाले गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार

गर्भवती शान्ता वि.क.को दिक्तेल हेलिप्याडबाट उद्धार गरिँदै । तस्वीर : जिल्ला प्रशासन कार्यालय खोटाङको फेसबुकबाट

खोटाङ, मङ्सिर १९ । सुत्केरी व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ की ३० वर्षीया शान्ता वि.क.लाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टरबाट निःशुल्क उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाइएको हो ।

सामान्यतया गर्भ बसेको ४० हप्तामा सुत्केरी व्यथा लाग्नुपर्नेमा वि.क.लाई त्यस अगावै व्यथा लागेपछि स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नहुने देखिएपछि अस्पतालले उहाँको उद्धारका लागि पहल गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको डा. सवन कोइरालाले बताउनुभयो ।

अस्पातलबाट प्राप्त पत्रका आधारमा जिल्ला प्रशासनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, सिंहदरबारलाई हेलिकोप्टरको व्यवस्थाका लागि सिफारिस गरेको र मन्त्रालयले हेलिकोप्टर व्यवस्था गरेपछि आज (आइतबार) बिहान ९ बजे दिक्तेलस्थित हेलिप्याडबाट उद्धार गरी काठमाडौँ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो ।