
मंसिर २०, खोटाङ– जिल्लामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको ऐँसेलुखर्क गाउँपालिका– २ बाकाचोल हुमेका ३३ वर्षीय सञ्जय राईलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
भरुवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा आज (सोमबार) बिहान १० बजे इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कबाट खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा एक नाल भरुवा बन्दुक, त्यसमा प्रयोग हुने बारुद ४८ ग्राम, सिसाको गोली २ थान, केपी ८५ थान फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीमाथि हातहतियार खरखजना कसुरमा जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो ।
