
खोटाङ, मङ्सिर २० । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित पीपलडाँडा माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । विद्यार्थीहरूको सिकाइलाई व्यावहारिक र गुणात्मक बनाउने उद्देश्यका साथ नगरपालिकाको सशर्त अनुदानको ६ लाख लागतमा विज्ञान प्रयोशाला निर्माण भएको हो । प्रयोगशाला निर्माण पश्चात आईतबारबाट सञ्चालनमा आएको वडाध्यक्ष रमेश राउतले जानकारी दिनुभयो ।
प्रयोगशाला सञ्चालनमा आएसँगै कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले विज्ञान विषयको पाठ्यक्रममा समावेश विषयवस्तुलाई प्रयोगात्मक रूपमा पनि सिक्न थालेका विद्यालयले जनाएको छ ।
यसअघि उक्त विद्यालयमा पुस्तकालय स्थापना, सूचना सञ्चार प्रविधि विषय अध्यापन, इन्टरनेट जडान लगायतका कार्य भइसकेको छ । यससँगै उच्चतम शैक्षिक सस्थालाई उपकरण र प्रविधिमैत्री बनाइ शिक्षाको गुणस्तर निर्माण गर्ने कार्यमा मंगलटारले फड्को मार्न सफल भएको वडाध्यक्ष राउतको भनाइ छ ।


