Thursday, April 16News That Matters

खोटाङका ५९ वडामा बर्थिङ सेन्टर, मातृ र शिशु मृत्युदर घट्यो

राजकुमार भट्टराई (सरगम)

खोटाङ, मङ्सिर २२ । खोटाङका ५९ वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएका छन । जिल्लामा ७९ वडा रहकोमा अहिले सम्म ७४ प्रतिशत अर्थात ५९ वडामा बर्थिङ सेन्टर निर्माण पश्चात सञ्चालनमा आएको वानहर्ट वल्डवाईड खोटाङका ट्रेनिङ फिल्ड सुपरभाईजर राजकिशोर प्रसाद चौधरीले जानकारी दिनुभयो ।

२ नगरपालिका र ८ गाउँपालिका गरी यस जिल्लामा १० स्थानीय तह रहेका छन । जसमध्ये ११ वटा वडा रहेको हलेसी तुवाचुङ नगरपालिका र ७\७ वटा वडा रहेको दिप्रुङ चुईचुम्मा र केपीलासगढी गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन भईरहेका छन । यस्तै ६ वडा रहेको रावाबेसी गाउँपालिकाको ५ वटा वडामा सेन्टर सञ्चालनमा आएको छ भने वडा नम्बर ५ दुबेकोलमा निर्माणको काम भईरहेको गाउँपालिकाले जनाएको छ ।

७ वडा रहेको जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा ४ वटा वडामा, १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकमा ९ वटा वडामा, ५ वडा रहेको साकेला गाउँपालिकामा ४ वटा वडामा र ६ वडा रहेको बराहपोखरी गाउँपालिकामा ४ वटा वडामा बर्थिङ सेन्टर सञ्चालन भईरहेका छन ।

यस्तै ९ वडा रहेको खोटेहाङ गाउँपालिकामा ६ वटा वडामा बर्थिङ सेन्टर स्थापन भएर सञ्चालन भईरहेका छन भने वडा नम्बर ५ चिप्रिङमा निर्माण भएपनि घोषणा हुन बाकी रहेको वानहर्ट वल्डवाईड खोटाङका टे«निङ फिल्ड सुपरभाईजर चौधरीले बताउनु भयो । ६ वडा रहेको जन्तेढुंगा गाउँपालिकामा जिल्लाको सबै भन्दा कम २ वटा वडामा मात्र बर्थिङ सेन्टर स्थापना भएको छ । दुई वटा वडामा मात्रै सेन्टर स्थापना भएपनि वडा नम्बर ४ डम्बर्खुशिवालयमा स्वास्थ्यकर्मी अभावको कारण समस्या रहेको उहाँको भनाई छ ।

मातृ र शिशु मृत्युदर घट्यो

जिल्लाका बिभिन्न ठाउँमा बर्थिङ सेन्टर स्थापना भएर सञ्चालन भएपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको क्रम बढ्दो रहेको छ । जसकारण मातृ मृत्युदर र शिशु मृत्युदरमा कमि आएको फिल्ड सुपरभाईजर चौधरीले बताउनुभयो । उहाँको भनाई अनुसार स.न २०१७ मा जिल्लामा मातृ मृत्युदर १० रहेको भिथो भने अहिले त्यो सङ्ख्या घटेर २ मा झरेको छ । यस्तै १७ मा शिशु मृत्युदर ८३ जना रहेकोमा अहिले ३८ मा झरेको उहाँले बताउनु भयो ।

यस्तै बर्थिङ सेन्टरमा आईसकेपछि उपचार सम्भव नभएमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकोप्टर मार्फत सुबिधा सम्पन्न अस्पतालमा पठाईएने गरेको छ । बर्थिङ सेन्टरले सुरक्षित सुत्केरी गराउनुको साथै राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई पनि सहयोग गर्दै आएको छ । जसकारण खोटाङमा ४ बर्षको अन्तरालमा मातृ मृत्युदर ८० प्रतिशत र नवजात शिशु मृत्युदर ५४ प्रतिशतले घटेको छ ।

चेतनाको कमिले अझै पनि कतिपय महिला घरमै सुत्केरी हुने गरेका छन । अब बिस्तारै यस्तो समस्याको समाधान हुँदै जाने र मातृ मृत्युदर र शिशु मृत्युदर शुन्यमा झर्ने वानहर्ट वल्डवाईड खोटाङका टे«निङ फिल्ड सुपरभाईजर चौधरीले बताउनु भयो ।