Thursday, April 16News That Matters

जाग्दैछन् महिला

दिक्तेल बहुमुखी क्याम्पस प्रांगणमा विद्यार्थीका साथमा अभियन्ता/तस्वीर: यशोदा रिजाल

पवन खड्का

मंसिर २७, खोटाङ । एक समय थियो, जतिवेला पुरुषले महिलामाथि जस्तोसुकै हिंसा र दमन गर्दा पनि उनीहरू चुपचाप सहिदिन्थे । उनीहरूमाथि पुरुषले यतिसम्म साशन गरेका थिए कि सामाजिक गतिविधिमा सहभागी हुने अवसरकोे त कुरै छोडौँ, व्यक्तिगत सारा स्वतन्त्रता पनि पुरुषको मुठ्ठीमा हुन्थ्यो । पुरुषले महिलालाई कठपुतली सरह बनाएका थिए । जे आदेश पुरुषबाट आउँथ्यो, त्यो उनीहरू असन्तुुष्टि वा इन्कार गर्नुपर्ने अवस्थाका बाबजुद पालन गर्न बाध्य पारिन्थे । पुरुष प्रधान सोचकै कारण महिलाहरू जीवनको आधारभूत आवश्यकता शिक्षालगायत थुप्रै अवसरबाट बञ्चित थिए । इतिहास केलाएर हेर्दा महिला साक्षरताको अवस्थाका तथ्यांकले यी कुरा प्रस्ट बोल्छन् ।

अर्काको घर जाने जात, पढे बिग्रिनेलगायतका नकाम आधार देखाएर पुरुषले महिलामाथि दमन र शोषण गर्ने कालखण्ड अब छैन । समयक्रमसँगै विद्यालय–विश्वविद्यालयमा पुरुषको तुलनामा महिलाहरूको संख्या बढी देखिन्छ । शिक्षाले चेतनाको स्तर उकास्दै लगेसँगै महिलाहरू दूरदराजमा पनि पुरुषबाट हुने हिंसा र दमन विरुद्ध निर्धक्क विद्रोहको विगूल थालेका छन् । चुल्हाचौकामा सीमित नरहेर महिलाहरू अब निकै माथि उठेका छन्उ/ठ्न चाहन्छन् । महिलाहरू अब पुरुषबाट हुने हिंसा र दमन सहन तयार छैनन् । कसैले उनीहरूमाथि महिला भएकै कारण हिंसा गरे पीडकलाई कानुनको कठघरामा उँभ्याउने साहस महिलाहरूमा छ । आजभोलि हिंसा विरुद्ध लड्न महिलाहरू व्यक्तिगत रूपमा वा समूह बनाएर अभिायनमा जुट्न थालेका छन् । यस्तै अभियानमध्येको एक हो– ‘उठ छोरी परिवर्तनका लागि’ ।

गत मंसिर १९ गते खोटाङका चार युवतीको अगुवाइमा यो अभियान सुरु भयो । अभियानका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका मनोज आचार्यले आर्थिक सहयोग गरे । सुरुमा नेर्पाकी निर्मला आचार्य ‘सुनाखरी’, सोही स्थानकी यशोदा रिजाल, सोही नगरपालिका–१ दिक्तेलकी सुलोचना आचार्य र ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलकी रोजिना दमाईले अभियानको नेतृत्व गरे । आफ्नो अभियानलाई बलियो नाम ‘उठ छोरी परिवर्तनका लागि’ दिएका उनीहरूले यसबीच दुई स्थानमा आफ्ना कार्यक्रम पु-याइसकेका छन् ।

कालिका माध्यमिक विद्यालय, नेर्पाबाट अभियान थालेका उनीहरूले आइतबार मात्रै दिक्तेलस्थित दिक्तेल बहुमुखी क्याम्पसमा हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम गरेका छन् । चार जनाबाट सुरु भएको अभियानको दोस्रो कार्यक्रममा दुई युवाहरू नेर्पाका पारसमणि रिजाल र जीवन रिजाल पनि साथ दिन आइपुगे । यस्तै अर्की युवती दिक्तेलकी प्रमिला आचार्य पनि अभियानमा जोडिइन् ।

अभियानको दोस्रो कार्यक्रममा क्याम्पस प्राङ्गणमा विद्यार्थीहरू पनि सहभागी भए । त्यस क्रममा उनीहरूले ‘म निर्मला पन्त हुँ । मेरो हत्यारा खोइ?’, ‘हाम्रा दिदीबहिनीको सुरक्षा गर’, ‘महिला–पुरूष एकै रथका दुई पांग्रा हुन्’, ‘लैंगिक हिंसा अन्त्य गरौं’, ‘समतामूलक समाजको निर्माण गरौँ’, ‘रजश्वला प्राकृतिक हो, यसमा विभेद हैन सहयोग गरौं’ ‘सेनिटरी प्याड सहज उपलब्ध गराऔँ’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

‘घर–घरबाट उठौँ, सबै महिला जुटौँ’, ‘हिसां गर्नेभन्दा हिंसा सहने दोषी हुन्छ, त्यसैले सधैँको लागि हिंसा विरुद्ध लागौँ’ नारा तय गरिएको अभियान प्रचारप्रसार तथा महिलाहरूलाई आफ्नो अधिकार, सक्षमता र हिंसा विरुद्ध सचेतना फैलाउनका लागि ‘म छोरी हो तर कमजोरी होइन’ नामक फेसबुक ग्रुप पनि बनाइएको छ ।

महिला हिंसाविरुद्ध चेतना जागृत गर्नु, लैंगिक विभेद अन्त्य गरी महिला र पुरुष समान हुन् भन्ने सन्देश प्रवाह गर्नु, महिला सशक्तीकरण अभियानको मूल उद्देश्य रहेको अभियन्ता यशोदा रिजालले बताइन् । आफूहरूको घोषणापत्र र स्पष्ट उद्देश्य केही दिनमै सार्वजनिक गरिने उनको भनाइ छ । अभियानलाई खोटाङका १० वटै पलिकामा पु-याएपछि देशव्यापी गर्दै लैजाने योजना रहेको उनले सुनाइन् ।

अर्की अभियन्ता निर्मला आचार्य ‘सुनाखरी’ ले आफूहरूको अभियान दुई–चार दिनको लागि नभएर अभियानको उद्देश्य प्राप्तिका लागि निरन्तर जारी रहने बताइन् । दुई–चार दिन तात्ने र सेलाउने जस्तो आफूहरूको अभियान नरहेको उनी बताउछिन् ।

अभियानमा हालै जोडिएका पारसमणि रिजालले दिदीबहिनीहरूले थालेको यो अभियानमा साथ दिन पाउँदा गर्व लागेको बताए । महिलाहरूको अभियानमा पुरुषले पनि साथ दिँदा अभियानको प्रभावकारिता थप बढ्ने उनी बताउछन् ।

कसैले केही नयाँ गर्न खोजे के के न गर्न लागे भनेर निरुत्साहित गर्न खोज्नेहरू प्रशस्त हुन्छन् । अभियन्ताहरूले यहाँ ‘झिँगोको श्रापले डिँगो मर्दैन’ उखानलाई आत्मसात गर्न जरुरी हुन्छ । आफ्नो ऊर्जालाई हरहालतमा कायम राख्न सके मात्र अभियानले सार्थकता पाउनेछ ।