
खोटाङ, माघ १५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका २२ वटा विद्यालयका प्रधानाध्यापकलाई नेतृत्व विकास र शिक्षण सामाग्री व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ । रातो बङ्गला स्कूल र रातो बङ्गला फाउन्डेसन पाटन ललितपुरसँगको सहकार्यमा रातो बङ्गला स्कूलमा तीन दिने तालिम प्रदान गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कूल र रातो बङ्गला फाउन्डेसन ललितपुरसँग तीन वर्ष सहकार्य गर्ने समझदारी भएको छ । सोही कार्यक्रम अन्तरगत २२ वटा विद्यालयका प्रानाध्यापक, शिक्षा शाखाका कर्मचारी र कार्यक्रम सञ्चालनको लागि नियुक्त गरिएको दुई जना फिल्ड अधिकृतलाई तालिम प्रदान गरिएको नगरपालिकाका मेयर विमला राईले जानकारी दिनुभयो ।
नगरपालिकाको ४५ दशमलव २२ र रातो बङ्गलाको ५४ दशमलव ७८ प्रतिशत लागत साझेदारीमा तीन वर्षसम्म चल्ने उक्त कार्यक्रमका लागि नगरपालिकाका २२ वटा विद्यालय छनोट गरिएको छ । शैक्षिक सुधारमा बजेट व्यवस्थापना लागतमा साझेदारी गरी शिक्षकलाई तालिम, शैक्षिक सामाग्री प्रदान, दिवा खाजा व्यवस्थापन, विद्यालयको शौचालयदेखि खानेपानीसम्मको व्यवस्थापन गरिने मेयर राईले बताउनुभयो । सोही कार्यक्रम अन्तरगत नेतृत्व विकास र शिक्षण सामाग्री व्यवस्थापन सम्बन्धि प्रधानाध्यापकहरुलाई तीन दिने तालिम प्रदान गरिएको उहाँको भनाइ छ । साझेदारी कार्यक्रमले शैक्षिक सामाग्रीसहितको शिक्षण सिकाइ हुनेछ । जसले सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारमा मदत पुग्ने विश्वास रहेको मेयर राईको भनाइ छ । नगरभित्र ९० वटा सामुदायिक विद्यालय रहेका छन् । अन्य विद्यालयलाई पनि उक्त कार्यक्रममा जोड्दै लगिने मेयर राईले बताउनुभयो ।
विद्यालयमा बालबालिकाको आकर्षण बढाउन तालिमबाट महत्वपूर्ण ज्ञान प्राप्त भएको बुलापन्थे माध्यमिक विद्यालय धितुङका प्रधानाध्यापक पदम बहादुर कार्कीले बताउनुभयो । ‘विद्यार्थीलाई जसरी हुन्छ किताब पढ भन्ने हाम्रो बानी छ, तर बालबालिकाको रुचि अनुसार पढाउनु पर्ने रहेछ भन्ने कुरा तालिमबाट सिक्न पाइयो ।’ प्रधानाध्यापक कार्कीले भन्नुभयो, ‘कक्षा कोठा बाहिर जान नदिने हाम्रो बानी छ, तर खेल, संगीत के गर्दा विद्यार्थी खुशी हुन्छन उनीहरुको रुचि अनुसार अध्ययन गराउनु अहिलेको आवश्यकता भन्ने बुझियो ।’
यस्तै, उक्त कार्यक्रम अन्तरगत शिक्षण सिकाइ सामाग्रीहरु प्रयाप्त विद्यालयलाई उपलब्ध भइरहेको प्रधानाध्यापकहरुको भनाइ छ । जसले गर्दा आगामी दिनमा शिक्षण सिकाइ प्रभावकारी हुने प्रधानाध्यापकहरुको विश्वास छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि दश बुँदे घोषणापत्रसमेत जारी गरेर काम गरिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका जनप्रतिनिधि, शिक्षक, अभिभावक र कर्मचारीले सामुदायिक विद्यालय शिक्षा सुधारको नैतिक धरातल बलियो बनाउन सार्वजनिक पद धारण गरेका व्यक्तिले ‘मेरो विद्यालय म आफैँ बनाउँछु, मेरा सन्तान मेरै कार्यक्षेत्रका सामुदायिक विद्यालयमा पढाउँछु’ भन्ने कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि जीर्ण रहेका भवनहरु निर्माण, धुलो रहित कक्षा कोठा निर्माण, खानेपानीको व्यवस्थापन, हरेक विद्यालयमा इन्टरनेटको जडान गरी प्रविधिसँग विद्यायलाई जोड्ने लगायतको काम भइरहेको मेयर राईले बताउनुभयो ।
यस्तै, कक्षा ४ देखि ९ सम्मको परीक्षा एसईई मोडलमा सञ्चालन, विद्यालय सञ्चालनका लागि आवश्यक बजेट नगरपालिकाले व्यवस्थापन गरी कक्षा १२ सम्मको शिक्षा निःशूल्क प्रदान लगायतका काम पनि नगरपालिकाले गरिरहेको छ । यस्तै, नगरपालिकाले यस वर्षबाट शिक्षकलाई स्थानीय भत्ता पनि उपलब्ध गराउने निर्णय गरिएको मेयर राईले बताउनुभयो ।
