
खोटाङ, माघ २९ । स्थानीय सरकारहरूको कार्यसम्पादन मुल्याङ्कनमा खोटाङ जिल्लाको दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका लगातार प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नौ स्थानीय तहलाई पछि पार्दै हलेसी तुवाचुङ यो वर्ष पनि पहिलो भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/०८२ को माघ २९ गते बिहिबार सार्वजनिक गरेको स्थानीय सरकारहरूको अन्तिम कार्यसम्पादन मुल्याङ्कन नतिजा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सबै भन्दा बढी ७२.५५ नम्बर पाएको छ । अघिल्लो आर्थिक वर्षमा पनि हलेसी तुवाचुङ नगरपालिकानै प्रथम भएको थियो । यो वर्ष पनि दोस्रो भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ७१.९४ अङ्क पाएको छ । ६६.४१ अङ्क ल्याएर खोटेहाङ गाउँपालिका तेस्रो भएको छ ।
यस्तै, बराहपोखरी गाउँपालिकाले ६५.८४, जन्तेढुंगा गाउँपालिकाले ६४.८४, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ६३.१४, केपिलासगढी गाउँपालिकाले ५८.७७, ऐसेलुखर्क गाउँपालिकाले ५४.४० र रावा बेसी गाउँपालिकाले ५३.१७ अङ्क ल्याएको छ । जिल्लाको सबै भन्दा पुच्छारमा रहदै साकेला गाउँपालिकाले ४८.९४ अङ्क ल्याएको छ ।
आयोगले कुल १७ सूचकमा स्थानीय तहहरुको मुल्याङ्कन गर्दै आएको छ । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, आव २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शूल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मुल्याङ्कनको सूचक मानिएको छ ।
आगामी आवको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको छ । यस्तै, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिका अनुपात समेत आयोगले मुल्याङ्कनका आधार मान्ने गरेको छ ।
