
खोटाङ, मङ्सिर २६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी मन्दिरमा १७ दिनमै ८ लाख बढी भेटी संकलन भएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको साझा आस्थाको केन्द्र रहेको हलेसीमा गत मङ्सिर ६ गतेदेखि २२ गतेसम्मको अवधिमा दर्शनार्थी तथा पर्यटकबाट ८ लाख ३९ हजार १ सय ९७ रुपैयाँ भेटी संकलन भएको हो ।
हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईका अनुसार यस अवधिमा शिव–पार्वती थानबाट ५ लाख २९ हजार ४ सय ५, मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट ३१ हजार ३ सय ४५, बसाहा गुफा दान पेटिकबाट ३९ हजार ६ सय, गणेश मन्दिर दान पेटिकाबाट २६ हजार १ सय रुपैयाँ भेटी संकलन भएको छ ।
यस्तै भक्तालुले चढाएको चामल बिक्रीबाट १४ हजार ८ सय ८० रुद्री लाख बत्तीलगायत अन्य सहयोगबाट १ लाख ९२ हजार २ सय ७७, र ढ्याक्के पैसा ५ हजार ५ सय रुपैयाँ संकलन भएको छ ।
यसैगरी यस अवधिमा मन्दिर दर्शनार्थीले भा.रु. ६ हजार १ सय ६०, चाँदी १५१.६५ ग्राम, सुन २.८ ग्राम र अमेरिकन डलर १ चढाएका छन् ।
संकलित भेटीको रकमबाट बिजुली, पानी, फोहोर व्यवस्थापन, सीसी क्यामेराको पीओई स्वीच खरिद, बाला चर्तुदशी मेलामा अस्थायी कर्मचारीको तलब भत्ता, भेटी गणना, अतिथि, खाजा, विभिन्न आर्थिक सहयोग गरी २ लाख १६ हजार ८ सय २९ रुपैयाँ खर्च भएको सूचना केन्द्रका प्रमुख राईले बताउनुभयो ।
खर्च कटाएर बाँकी रहेको रकम ६ लाख २२ हजार ३ सय ६८ रुपैयाँ माछापुच्छ्रे बैंकको हलेसी शाखामा रहेको मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ । हाल समितिको खातामा जम्मा ८४ लाख १५ हजार ५ सय ७३ रुपैयाँ बचत रहेको सूचना केन्द्रले जनाएको छ ।
