
राजकुमार सरगम (भट्टराई)
खोटाङ, माघ १३ गते । नेपाली कांग्रेस खोटाङको पहिलो पटक बिरकाजी राई साझा उम्मेदवार बनेका छन् । विभिन्न गुटका कारण प्राय सबै निर्वाचनमा टिकटप्रति रुष्टहुँदै आएको खोटाङ कांग्रेस यो पटक सबैले उम्मेदवारलाई समर्थन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा खोटाङबाट बिरकाजी राई कांग्रेसको उम्मेदवार छन् । उनलाई अहिलेसम्म जिल्लाका सबै कांग्रेसी नेताहरुले समर्थन गरेको देखिन्छ । बागी उम्मेदवार र अन्तरघातले आजित भएको कांग्रेस यो पटक एक ठाउँमा उभिएर जीत निकाल्ने दाउमा रहेको छ ।
विगतका निर्वाचनहरुमा एउटा पक्षले टिकट ल्याउने अनि अर्को पक्ष रुष्टहुँदै आएको प्रष्ट देखिन्थ्यो । तर, बिरकाजी राईलाई अहिले सबै पक्षले समर्थन गरेका छन् । कांग्रेस जिल्ला कार्यसमितिको एक कार्यकाल सचिव भएका राई सभापतिमा पराजित भएका थिए । अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका राईलाई पार्टीले टिकट दिएपछि सबैले पार्टीको निर्णयलाई स्विकार गरेको देखिन्छ ।
नेताहरु सुवास पोखरेल र विष्णु राईको समुहबाट महाधिवेशन प्रतिनिधि जितेका राई पूर्व राज्यमन्त्री सर्वधन राई र कोशी प्रदेशका निर्वतमान भौतिक पूर्वधार एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राई समुहसँग पनि नजिक रहेका थिए । सबैसँग नजिक रहेका सालिन स्वभावका उनै बिरकाजी राई अहिले सबै कांग्रेसको साझा उम्मेदवार बनेका छन् ।
माघ ६ गते भएको उम्मेदवारको मनोनय दर्ताका लागि कांग्रेसका सबै पक्षका नेताहरु उपस्थित भएका थिए । कांग्रेसबाट निर्वाचित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले पार्टीका उम्मेदवार राईलाई बीचमा राखेर लगेका थिए । मनोनय दर्तामा उपस्थित कोशी प्रदेशका निर्वतमान भौतिक पूर्वधार एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले निर्वाचनमा खोटाङ कांग्रेसमा अब कुनै पक्ष र बिपक्ष नरहेको बताएका छन् । कांग्रेसका उम्मेदवार राईलाई मनोनय दर्ताकै भोलि पल्ट आफ्नो घरमा स्वागत गर्दै मन्त्री राईले चुनावमा एकजुट भएर जाने संकेत दिइसकेका छन् ।
यस्तै, कांग्रेस खोटाङका सभापति विष्णु राई, पूर्व सभापति नरेश श्रेष्ठ, शिव बस्नेत, पूर्व राज्यमन्त्री सर्वधन राई लगायत, सबै महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका सबै नेताहरु पनि निर्वाचनका लागि एकजुट भएर लाग्ने तयारीमै रहेको कांग्रेसका सचिव एवं केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई बताउछन् । विशेष महाधिवेशबाट केन्द्रीय सदस्यमा निर्वाचित सुबास पोखरेल, निर्वतमान केन्द्रीय सदस्य सरस्वती बजिमय लगायतका नेताहरु पनि चुनावी प्रचारप्रसारमा खटिने उनको भनाइ छ ।
संगठन राम्रो भएपनि कांग्रेसले अन्तरघातकै कारण खोटाङमा यस अघि निर्वाचनमा राम्रो नतिजा ल्याउन नसकेको कांग्रेसकै नेताहरु बताउछन् । नेकपा एमाले फुटेर एमाले र माले भएको समयमा २०५६ सालमा खोटाङका दुवै क्षेत्रमा कांग्रेसले चुनाव जितेको थियो । क्षेत्र नम्बर एकमा सर्वधन राई र दुईमा शिव बस्नेतले कांग्रेसबाट चुनाव जितेका थिए । यस्तै, २०७९ मा भएको निर्वाचनमा नेकपा माओवादी लगायतका दलसँगको गठबन्धनमा प्रदेश सभा ख बाट कांग्रेसका भूपेन्द्र राईले चुनाव जितेका थिए । प्रदेश सभा क मा एकीकृत समाजवादी र संघमा माओवादीको भाग परेको थियो । कांग्रेसले आफ्नो उम्मेदवारनै उठाउन पाएको थिएन ।
त्यस बाहेक नेपालमा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि भएको निर्वाचनहरु २०४८, २०५१, २०६४, २०७० र २०७४ मा लगातार कांग्रेस पराजित भएको थियो । ०४८,५१ र ७० मा दुवै क्षेत्र एमालेले जितेको इतिहास छ । ०६४ को दुवै क्षेत्र माओवादीले जितेको थियो । ०७४ मा एमाले र माओवादी गठबन्धनले खोटाङमा चुनाव जितेको थियो । ०८२ फागुन २१ गते हुने निर्वाचनमा कांग्रेस सबै एकै ठाउँमा उभिएकाले निर्वाचन आफ्नो पक्षमा पार्न सक्ने उनीहरुको दाबी छ ।
जिल्लाको दुई प्रदेशसभा सदस्यमा कमा एमालेका पाँचकर्ण राई र खमा कांग्रेसका भूपेन्द्र राई रहेका छन् । दुई नगरपालिकासहित दश स्थानीय तह रहेको खोटाङमा सबै भन्दा धेरै कांग्रेसका जनप्रतिनिधि छन् । दुई नगरपालिकाका प्रमुख, चार गाउँपालिका प्रमुख, एक नगरपालिका उपप्रमुख तीन गाउँपालिका उपप्रमुख र ३२ वडाध्यक्ष कांग्रेसका छन् । समन्वय समिति प्रमुख र उपप्रमुखसहित दुई गाउँपालिका प्रमुख, एक नगरपालिका उपप्रमुख, दुई गाउँपालिका उपप्रमुख र २५ वडाध्यक्ष नेपाली कम्युनिष्ट पार्टीका छन् । दुई गाउँपालिका प्रमुख, दुई गाउँपालिका उपप्रमुख र १९ वडाध्यक्ष नेकपा एमालेका रहेका छन् । यस्तै, एक गाउँपालिका उपप्रमुख र २ वडाध्यक्ष जसपाका रहेका छन् । एक वडाध्यक्ष भने कांग्रेसका बागी उम्मेद्वारले जितेका छन् ।
०७९ मा भएको निर्वाचनमा समानुपातिक मत एमालेको २४ हजार २७१, नेपाली कांग्रेसको १८ हजार ६७२, नेकपा माओवादी केन्द्रको ११ हजार ८४५, एकीकृत समाजवादीको ३ हजार ३६३, जनता समाजवादी नेपालको २ हजार २४८, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ हजार २५५ मत समानुपातिकमा आएको थियो । तत्कालिन अवस्थामा जिल्लामा संगठननै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा पनि समानुपातिकतर्फ १ हजार ४९७ मत आएको थियो ।
नेकपा एमालेको राम्रो संगठन रहेकाले जीत सुनिश्चित जस्तै रहेको एमालेजनको दावी छ । यस पटक विशाल भट्टराई बिश्राममा छन् । एमालेले देवबिक्रम राईलाई अघि सारेको छ । उता देशकै परिचित नाम राजनीतिक अर्थशास्त्री डाक्टर हरी रोकालाई उम्मेद्वार बनाएको नेपाली कम्युनिष्ट पार्टी पनि जीत निकाल्न उत्साहित देखिन्छ । सांगठानिकरुपले एमाले र कांग्रेस भन्दा जिल्लामा केही कमजोर भएपनि उम्मेद्वारका आधारमा जीत आफुहरुको पक्षमा हुने नेपाली कम्युनिष्ट पार्टीजनको उत्साह छ ।
यता, पहिलो पटक जिल्लामा संगठन बिस्तार गरेर निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वातन्त्र पार्टी र भर्खर दर्ता भएर चुनावमा आएका श्रम संस्कृति पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले पनि पुराना राजनीतिक दलहरुलाई चुनौती दिने छन् । देशको बदलिदो राजनीति र युवाहरुको समर्थन रहेको राष्ट्रिय स्वातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले खोटाङमा राम्रै मत ल्याउने आकलन गरिएको छ । रास्वपाबाट रुद्र गिरी र श्रम संस्कृतिबाट आरेन राई उम्मेद्वार छन् । खोटाङ श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङको जन्मस्थल पनि भएकाले राम्रै मत ल्याउने आकलन गरिएको छ । यस्तै, जेनजी युवाहरुले दर्ता गराएका राष्ट्रिय परिवर्तन पार्टीले पनि जिल्लाबाट २५ वर्षीय मिरेश राईलाई उम्मेद्वार बनाएको छ । कुलमान धिसिङ केन्द्रीय अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीको पनि साझा उम्मेद्वार राई रहेकाले उनको पक्षमा पनि राम्रै मत आउने आकलन गरिन्छ ।
यस्तै, अघिल्लो निर्वाचनमा तेस्रो भएको जसपा नेपाल अहिले दुई धारमा छ । जिल्लाका उम्मेद्वारनै अहिले पार्टी छाडिसकेका छन् । विभाजन भएको जसपाबाट राकेश राई र जसपा नेपालबाट सुनिल चाम्लिङ उम्मेद्वार छन् । अघिल्लो निर्वाचनमा जिल्लामा चौथो भएको राप्रपाले अहिले दिपक तामाङलाई उम्मेद्वार बनाएको छ ।
यस्तै, खोटाङबा अन्य उम्मेद्वारहरुमा नेपाल कम्युनिष्ट पार्टीबाट चन्द्र बहादुर बुढाथोकी, मंगोलनेश्नल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई, नेपाल मजदुर किसान पार्टीबाट ध्यान प्रसाद ढकाल, मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ र स्वतन्त्र उम्मेदवारकोरुपमा डाक्टर राजकुमार राई र तिलक चन्द्र राई रहेका छन् ।
