
खोटाङ, माघ १२ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघरको समस्या भएका १३ जना महिलाहरुको शल्यक्रियासहितको सफल उपचार गराएको छ । बनेपास्थित शीर मेमोरियल अस्पताल लगेर नगरपालिकाले महिलाहरुको निःशूल्क उपचार गराएको हो ।
पाठेघरको समस्या भएका महिलाको पहिचान र उपचारका लागि नगरपालिकाले पुस २० र २१ गते महिला प्रजनन रुग्णता शिविर सञ्चालन गरेको छ । सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा २२ जना महिलाहरुको पाठेघरको शलयक्रिया गर्नु पर्ने देखिएको थियो । २२ मध्ये १८ जनालाई माघ ४ गते अस्पताल लगिएको नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेव विबेक पराजुलीले बताउनुभयो । ४ जना अउपचारको लागि जान नमानेको उहाँको भनाइ छ ।
उपचारसहित बिरामी र कुरुवालाई निःशूल्क खाना बस्न र यायातायातको व्यवस्था नगरपालिकाले गरेको थियो । बस रिजर्भ गरेर नगरपालिकाले अस्पताल पुराएको १८ मध्ये १३ जनाको शल्यक्रियासहित सफल उपचार भएको हो । २ जनाको शल्यक्रिया गर्नु नपर्ने देखिएकाले रिङप्रेसरी राखेर पठाएको छ । ३ जना महिलाहरुको सुगर प्रेसरका कारण तत्काल शल्यक्रिया गर्न नमिल्ने भएकाले पुनः अस्पताल लाने गरी फर्काइएको पराजुलीको भनाइ छ ।
विगत तीन वर्षदेखि नगरपालिकाले पाठेघरको समस्या भएका महिलाहरुको शल्यक्रियासहितको उपचार निःशूल्क गराउदै आएको छ । यस अघि पनि नगरपालिकाले ४१ जना महिलाहरुलाई सोही अस्पताल लगेर निःशूल्क उपचार गराएको नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । यो वर्ष पनि पाठेघरको समस्या भएका महिलाहरुको पहिचानका लागि नगरपालिकाको दुई ठाउँमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा पहिचान भएका बिरामीलाई उपचारका लागि निःशूल्क अस्पताल लगिएको मेयर राईले बताउनुभयो ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शिविरमा शल्यक्रिया गर्नु पर्ने देखिएका ३६ जना महिलामध्ये १८ जनालाई माघ ८ गते गाडी रिजर्भ गरेर सोही अस्पताल लगिएको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताउनुभयो । उनीहरुको धमाधम उपचार भइरहेको छ । बाकी रहेका १८ जना बिरामीलाई केही दिन भित्रमा लगिने उहाँको भनाइ छ ।
यस्तै, रावा बेसी गाउँपालिकाको शिविरमा शल्यक्रिया गर्नु पर्ने २१ जना महिलाहरु भेटिएका छन् । उनीहरुलाई पनि चाडै सोही अस्पतालमा लगेर उपचार गर्ने तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कौसल अधिकारीले बताउनुभयो ।
