Thursday, April 16News That Matters

खोटाङ : वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगी रोक्न अभिमुखीकरण

तस्वीर: प्रमोद श्रेष्ठको फेसबुक ।

२७ मंसिर, खोटाङ । खोटाङमा वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगी न्यूनीकरणका लागि सरोकारवाला निकायबीच छलफल भएको छ । रोजगारीको सिलसिलमा युवा ठगिएका घटना वृद्धि भइरहेको अवस्थामा बालसेवा समाज, नेर्पाद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना केन्द्र (सामी) खोटाङले जिल्लाका १० वटै पालिकाका प्रहरी प्रतिनिधिको सहभागितामा एक दिने अन्तरक्रिया तथा तथा अभिमुखीकरण कार्यक्रम गरेको हो ।

जिल्ला सदरमुकाम दिक्तेलस्थित होटल शुभदिनमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालसहित दशवटै पालिकाका गरी २७ जना प्रहरी प्रतिनिधि सहभागी भएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरापालिकाका मेयर दीपनारयण रिजालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वैदेशिक रोजागरीलाई सुरक्षित र व्यवस्थित बनाउन सामी र प्रहरीले कसरी सहकार्य गर्न सक्छन् भन्ने विषयमा छलफल भएको परियोजनाका कार्यक्रम संयोजक सन्तोष राईले बताउनुभयो ।

कार्यक्रमपछि सामीमा दर्ता हुने वैदेशिक रोजगार सम्बन्धी मुद्दा हेर्नका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश ठाकुरलाई फोकल पर्सन तोकिएको छ । यस्तै आगामी दिनमा सामी र प्रहरी एक आपसमा सहकार्य गरेर वैदेशिक रोजगारका क्रममा हुन सक्ने ठगीबारे समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गर्ने निर्णय भएको परियोजनाका सामाजिक मनोपरामर्शदाता प्रमोद श्रेष्ठले जानकारी दिनुभयो ।

समुदायसँग प्रहरी नजिक रहेको तथा वैदेशिक रोजगारी आम चासोको विषय भएकाले समुदाय–प्रहरी साझेदारी कार्यक्रममा वैदेशिक रोजगार सम्बन्धी चेतनामूलक कार्यक्रम गर्ने प्रहरी र सामीबीच सहमति भएको श्रेष्ठको भनाइ छ ।